मुख्य समाचार

काठमाडौको जोरपाटीमा बोरिङ खन्दा ग्यास निस्कियो

नवलपुर टुडे
२०७९ साउन ३ | मध्यान्ह ०१:०४ बजे

काठमाडौँ, साउन ३ । काठमाडौंको जोरपाटीस्थित चामुण्डामा बोरिङ खन्ने क्रममा ग्यास निस्किएको छ । स्थानीय सन्तवीर लामाको घरमा पानीका लागि बोरिङ खन्ने क्रममा लेदोसहित पानी र ग्यास निस्किएको हो ।

स्थानीय नगेन्द्रप्रसाद दाहालका अनुसार ३ सय फिटजति खनेपछि एक्कासि विस्फोट भई लेदोसहित ग्यासको मुस्लो निस्किएको हो । बिहान १० बजेदेखि पाइपबाट ग्यासको मुस्लो निस्किरहेको उनले बताए । अहिले उक्त ठाउँमा ग्यासको जस्तो गन्ध फैलिएको छ ।

ग्यासको मुस्लो तीन तलामाथिसम्म पुगेको दाहालले बताए । उनले भने -‘छेउछाउका घरमा धुलाम्मे भएका छन् । बाटोमा राखेका मोटरसाइकल पनि ग्यासबाट निस्किएको धुलोले धुलाम्मे भएका छन् ।’

घटनाको वास्तविकता पत्ता लगाउनका लागि खानी तथा भूगर्भ विभागका अधिकारीहरूलाई बोलाइएको छ । प्रहरीले अहिले घटनास्थलमा सर्वसाधारणलाई आवतजावत गर्न रोक लगाएको छ ।

कमेन्टहरु