मुख्य समाचार

पक्राउ पूर्जी जारी भएपछि विद्युत प्राधिकरण भरतपुरका प्रमुख सिंह फरार

नवलपुर टुडे
२०७९ साउन २ | मध्यान्ह ०३:०४ बजे

चितवन, साउन २ । चितवनमा पत्रकारमाथि कुटपिटमा संलग्न रहेका आरोपित नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका प्रमुख राजीव कुमार सिंह फरार भएका छन् । आइतबार अपरान्ह ४ बजे नै जिल्ला प्रशासन कार्यालयले सिंहविरुद्ध पक्राउ पूर्जी जारी गरेको थियो ।

तर अझैसम्म पनि प्रमुख सिंह पक्राउ नपरेको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले जानकारी दिए । नेपाल पत्रकार महासंघ चितवनका अध्यक्ष नारायण प्रसाद अधिकारीसहित पुगेको महासंघको टोलीसंग कुरा गर्दै प्रजिअ तामाङले विद्यतुका प्रमुख सिंह पक्राउ नपरेको जानकारी दिए । उनले भने–‘प्रमुखविरुद्ध पक्राउ पूर्जी जारी भइसकेको छ, उहाँ पक्राउ पर्नु भएको छैन, हामी खोजीकार्य जारी राखेका छौं ।’

प्रजिअ तामाङले विद्युत् प्राधिकरणका कर्मचारीहरूले आफूलाई फोन गरेर पक्राउ परेका कर्मचारीलाई रिहा नगरे विद्युत् लाइन काटिदिने धम्कीसमेत दिएको बताए ।

शुक्रबार विद्युत प्राधिकरणको कार्यालयभित्रै कर्मचारीहरू मासु र मदिरा सेवन गरेर भोज मनाइरहेको भन्ने खबर प्राप्त भएपछि रिपोर्टिङ गर्न पुगेका पत्रकार कृष्ण आचार्यमाथि कर्मचारीले कुटपिट र अभद्र व्यवहार गरेका थिए । उक्त घटनामा संलग्न रहेको भन्दै विद्युत प्राधिकरण भरतपुरका प्रमुख सिंहसहित आठ जना कर्मचारीविरुद्ध आइतबार जिल्ला प्रहरी कार्यालयमा अभद्र व्यवहारको मुद्दा दर्ता भएको थियो ।

आचार्य चितवनबाट प्रकाशन हुने नारायणी अनलाइनका सम्पादक, सञ्चारपत्र दैनिकका प्रकाशक र राष्ट्रिय समाचार समितिका चितवन संवाददाता हुन् ।

कमेन्टहरु