मुख्य समाचार

भारत भ्रमणमा रहेका प्रचण्डले भने – १९५० को सन्धि पुनरावलोकन गर्नुपर्छ

नवलपुर टुडे
२०७९ असार ३२ | मध्यान्ह ०४:०३ बजे

काठमाडौं, असार ३२ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाल-भारतबीच भएको सन् १९५०को सन्धि पुनरावलोकन गर्नुपर्ने बताएका छन् । भारत भ्रमणमा रहेका प्रचण्डले शनिबार भारतको राजधानी नयाँदिल्लीस्थित फाउन्डेशन फर पब्लिक अवार्नेश एण्ड पोलिसीको कार्यक्रममा बोल्दै यस्तो बताएका हुन् ।

उनले कूटनीतिक संवादमार्फत् दुई मुलुकबीचमा देखिएका समस्याहरू समाधान गरेर जान पनि सो सन्धिको पुनरावलोकन गर्न ढिलाई गर्न नहुने बताए । त्यस अवसरमा प्रचण्डले नेपाल-भारत प्रवुद्ध समूहले तयार पारेको प्रतिवेदनलाई दुई मुलुकबीचको सम्बन्धमा अझ प्रगाढ बनाउने गरी ग्रहण गरेर अघि बढनुपर्ने पनि स्पष्ट पारे ।

उनले नेपाल-भारतबीचको सम्बन्ध परापूर्वकालदेखि नै प्रगाढ रहेको उल्लेख गर्दै त्यसमा कुनै समस्या आए कूटनीतिक संवादको माध्यमबाट समाधान गर्दै अघि बढ्न सकिने बताए । प्रचण्डले नेपालको कृषि, पूर्वाधार, पर्यटनमा लगानी बढाउन पनि भारतसँग आग्रह गरे ।

नेपाल सरकारले निर्यातजन्य उद्योगलाई प्राथमिकतामा राखेको उल्लेख गर्दै उनले त्यसमा लगानी गरेर पनि उच्च प्रतिफल लिन सकिने अवसर रहेको धारणा व्यक्त गरे ।

कमेन्टहरु