चितवनमा पत्रकार कुटपिटमा संलग्न विद्युत् प्राधिकरणका सात कर्मचारी प्रहरीको नियन्त्रणमा


चितवन, असार ३२ । चितवनमा पत्रकारमाथि कुटपिटमा संलग्न सात जना विद्युत् प्राधिकरण भरतपुर वितरण केन्द्रका कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
भरतपुरमा रहेको विद्युत् कार्यालयभित्र मदिरासहितको भोज चलिरहेको भन्ने सूचनाका आधारमा शुक्रबार साँझ समाचार संकलनका लागि गएका पत्रकार कृष्ण आचार्यमाथि केन्द्रका कर्मचारीहरुले कुटपिट गरेका थिए । कार्यालयभित्र भइरहेको मदिरासहितको भोजको तस्विर खिचेपछि आचार्यलाई कर्मचारीहरुले कुटपिट गर्दै लखेटेका थिए । मदिराले मातिएका कर्मचारीहरुले आचार्यको दुईवटा मोबाइलसमेत खोसेका थिए ।
कुटपिटमा संलग्न कर्मचारीलाई नियन्त्रणमा लिन माग गर्दै पत्रकारहरूले शुक्रबार राति प्रहरी कार्यालयमा धर्ना दिएका थिए । शनिबार बिहान जिल्ला प्रहरी कार्यालयमा आचार्यको परिवार, पत्रकार महासंघका अध्यक्ष र विद्युत् प्राधिकरणका प्रमुखलगायत सहभागी छलफलमा भोजमा संलग्न सबै कर्मचारीलाई नियन्त्रणमा लिएर अनुसन्धान गर्ने सहमति भएको हो ।
आचार्यको परिवारले सातै जना कर्मचारीविरूद्ध अभद्र व्यवहारमा किटानी जाहेरी दिएका छन् । आचार्य चितवनबाट प्रकाशन हुने नारायणी अनलाइनको सम्पादक, सञ्चारपत्र दैनिकका प्रकाशक र राष्ट्रिय समाचार समितिका चितवन संवाददाता हुन् ।























