भारत भ्रमणमा रहेका प्रचण्डको आज र भोलि उच्चस्तरीय भेटवार्ता

नवलपुर टुडे
२०७९ असार ३२ | बिहान ०७:०३ बजे

काठमाडौं, असार ३२ । तीनदिने भारत भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आज र भोलि उच्चस्तरीय भेटवार्ता गर्ने भएका छन् ।
भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जगतप्रकाश नड्डाको निमन्त्रणामा हिजो दिल्ली प्रस्थान गरेका प्रचण्डले शनिबार र आइतबार उच्चस्तरीय वार्ता गर्ने कार्यक्रम छ । आज प्रचण्डले भाजपाका अध्यक्ष नड्डासँग भाजपा मुख्यालयमा भेटवार्ता गर्नेछन् ।
प्रचण्डले आजै भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभाल र विदेशमन्त्री एस जयशङ्करसँग पनि बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम छ । प्रचण्डले आइतबार बिहान भारतीय प्रधानमन्त्री मोदीसँग उनकै निवासमा शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम छ ।
मोदीसँगको भेटपछि प्रचण्ड भोलि नै स्वदेश फर्कने कार्यक्रम छ ।























