मोरङ कारागारमा फैलियो कोरोना : एक जना कैदीबन्दीको मृत्यु, १८ जना अस्पताल भर्ना


विराटनगर । जिल्ला कारागार मोरङमा कोरोना भाइरसको संक्रमण फैलिएको छ । विराटनगर महानगरपालिका–८ स्थित कारागारमा केही दिनयता कोरोना संक्रमण फैलिएको हो ।
कारागार प्रशासनले अत्याधिक ज्वरो आएपछि बिहीबार १९ जना कैदीबन्दीलाई कोसी अस्पताल भर्ना गरेको थियो । भर्ना गरेका मध्ये एक जनाको बिहीबार नै मृत्यु भएको छ । उपचाररत १८ जनाको एन्टिजेन परीक्षण गराउँदा १६ जनाको रिपोर्ट पोजेटिभ आएको छ । दुई जनाको रिपोर्ट नेगेटिभ आएपनि कोरोनासँग मिल्दो जुल्दो लक्षण छ ।
‘१०० डिग्री भन्दा बढी ज्वरो आएका १९ जना बिरामीलाई अस्पताल भर्ना गरिएको हो, भित्र बिरामीको संख्या धेरै छ’ कारागार स्रोतले भन्यो, ‘यहाँको क्षमता जम्मा तीन सय हो, कैदीबन्दी एक हजार ८७ जना छन् ।’
बिहीबार अस्पताल भर्ना भएका विरामीको आज एन्टिजेन परीक्षण गराउँदा रिपोर्ट पोजेटिभ आएको कोसी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. यज्ञराज खरेलले बताए । एन्टिजेन पोजेटिभ आएकालाई थप उपचारका लागि कोसी कोभिड अस्पताल रेफर गरिने उनले बताए ।
बिहीबार अत्यधिक ज्वरो आएपछि कोसी अस्पतालमा भर्ना गरिएकामध्ये सुन्दरहरैँचा नगरपालिका–४ का ३९ वर्षीय कैदी नीरबहादुर नेपालको मृत्यु भएको हो । ज्यान मार्ने उद्योग मुद्दामा कैद सजाय भुक्तान गरिरहेका उनलाई १०४ डिग्री ज्वरो आएपछि बिहीबार नै उपचारका लागि अस्पताल भर्ना गरिएको थियो ।
अस्पतालको आइसियुमा राखेर उपचार गरिरहदा उनको दिउँसो १ः३० बजेतिर मृत्यु भएको हो । कोरोनासँग मिल्दो जुल्दो लक्षण भएपनि मृतकको भने कोरोना जाँच भएन । उनको शव बुझेर आफन्तले लगिसकेका छन् । कारागारमा हाल एक हजार ८७ जना कैदी बन्दी छन् । कारागारको क्षमता भने महिला पुरुष गरी तीन सय जना मात्र हो ।























