मुख्य समाचार

जनकपुरधामबाट एक सय बढी सुकुमबासी पक्राउ

नवलपुर टुडे
२०७९ असार ३० | मध्यान्ह १२:०३ बजे

जनकपुरधाम, असार ३० । जनकपुरधामबाट प्रहरीले एक सय बढी चुरे तथा वन जंगल बचाउ अभियन्ता र सुकुमबासीलाई पक्राउ गरेको छ । विभिन्न माग राख्दै प्रदर्शन गरेर बजार बन्द गराउने क्रममा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिएको हो ।

सुकुमबासीका नाममा अर्कै व्यक्तिले चुरे तथा वन, जंगलको अतिक्रमण गरिरहदा पनि सरकारले ध्यान नदिएको, भूमिहीनको नाममा नक्कली सुकुम्बासीलाई जग्गा वितरण गरेको भन्दै यसअघि आन्दोलन गर्दै आएका उनीहरूले बिहीबार जनकपुरधाम बन्दको घोषणा गरेका थिए ।

घोषणा अनुसार बजार बन्द गराउदै हिडेका १०३ जनालाई प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय धनुषाका प्रबक्ता एवं डीएसपी जितेन्द्र कुमार बस्नेतका अनुसार ९४ जना महिला र ९ जना पुरुषलाई नियन्त्रणमा लिइएको छ ।

उनीहरुलाई जिल्ला प्रहरी कार्यालयमा राखिएको छ । अभियानका संयोजक सुनिलकुमार यादवले आफूहरुले पटक-पटक आन्दोलन गर्दै आउदा पनि सरकारले आफूहरुको माग पूरा गर्न ध्यान नदिँदा बन्दको कार्यक्रम घोषणा गर्न बाध्य भएको बताए ।

उनले शान्तिपूर्ण आन्दोलनमा प्रहरीले हस्तक्षेप गरेको भन्दै पक्राउ गरेका सुकुम्बासीलाई तत्काल रिहा गर्न स्थानीय प्रशासनसँग माग गरेका छन् ।

कमेन्टहरु