मुख्य समाचार

चोरी गरेर अमेरिका पुर्‍याइएका दुइटा टुँडाल नेपाल फर्काइयो, पुरातत्व विभागलाई हस्तान्तरण

नवलपुर टुडे
२०७९ असार २८ | मध्यान्ह ०९:०३ बजे

काठमाडौ । नेपालबाट चोरी भएर अमेरिका पुर्‍याइएका ऐतिहासिक तथा पुरातात्विक महत्वका दुई थान टुँडाल नेपाल फर्काएर पुरातत्व विभागलाई हस्तान्तरण गरिएको छ । पुरातत्व विभागमा आयोजित कार्यक्रममा काठमाडौंस्थित अमेरिकी दूतावासकी डेपुटी चिफ अफ मिसन अविगल अरोनसनले १ सय ३५ सेमी लम्बाइ तथा २१ सेमी चौडाइ र ११०.२ किलोग्राम तौलका दुइटा टुँडाल संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव महेश्वर न्यौपानेलाई हस्तान्तरण गरेकी हुन्।

काठमाडौं महानगरपालिका-१२ ह्यूमत टोलमा रहेको दुई छाने नारायण मन्दिरको पहिलो छानो अड्याउन १३ औं र १४ औं शताब्दीमा बनेका दुई टुँडाल १९८० को दशकमा चोरी भएका थिए। उक्त टुँडालहरू एक अमेरिकी नागरिकले जम्मा गरी सन् २००३ मा आर्ट इस्टिच्युट अफ शिकागोमा प्रदर्शनीमा राखेका थिए । उनले पुरातात्विक महत्वका उक्त टुँडाल नेपाल फर्काउन चाहेपछि नेपाली महावाणिज्य दूतावाससँग समन्वय गरी बीमा र ढुवानी खर्च समेत बेहोरी युएस आर्ट कम्पनीको सहकार्यमा नेपाल फर्काएका हुन्।

हालसम्म बेलायतबाट १९ थान, अस्ट्रेलियाबाट १ थान, अमेरिकाबाट २३ थान, तिब्बतबाट २८ थान, कलकत्ताबाट १३ र जर्मनीबाट १ थान मूर्ति तथा कलावस्तुहरू नेपाल फर्काइएको पुरातत्व विभागले जनाएको छ।

कमेन्टहरु