पश्चिम नवलपरासीको सरावल गाउँपालिका – २ को वडा कार्यालयमा स्थानीयद्वारा तालाबन्दी


खुरसेद हजाम नवलपरासी, असार २७ । पश्चिम नवलपरासीको सरावल गाउँपालिका – २ को वडा कार्यालयमा स्थानीयबासीले सोमबार तालाबन्दी गरेका छन् ।
गत वर्ष कोरोनाबाट प्रभावितको लागि राहत दिने सरकारको निर्णय अनुसार पालिकाले प्रभावित व्यक्तिको वितरण संकलन गर्दा वडाले वास्तविक कोरोना प्रभावित तथा गरिब अतिबिपन्नहरुलाई बेवास्ता गरी आफ्ना मान्छेहरुको नाम सिफारिस गरेको भन्दै वडाको सबै सेवा प्रभावित हुनेगरी स्थानीयवासीले तालाबन्दी गरिएका हुन् ।
राहत वितरणमा वडाले आफ्ना मान्छेको नाम सिफारिस गरेको तथा गरिब वर्गलाई बेवास्ता गरी सम्पन्न परिवारको नाम सिफारिस गरेको र एकै परिवारका दुइ जनासम्मको नाम सिफारिस गरि गाउँपालिकामा पठाएको भन्दै स्थानीयबासीहरु आक्रोशीत भएका थिए । वडाले जति पनि नाम सिफारिस गरिएको छ ती सबैको छानबिन गरी वास्तविक प्रभावित परिवारलाई छनौट नगरेसम्म वडामा लगाइएको ताला नखोलिने स्थानियबासिहरुको अडान छ ।
यस विषयमा सरावल – २ का कार्यवाहक वडाध्यक्ष तुफानीलाल गुप्तासँग बुझ्दा उनले आफू कार्यवाहक भई काम गरेको दुई दिन मात्र भएकाले यस विषयमा आफु खासै जानकार नभएको र आफूले सम्बन्धित निकायमा बुझ्ने प्रतिक्रिया दिए । सरावल गाउँपालिकाको वडा नं २ ले २६० जनाको नाम पठाएकोमा प्रभावितको संख्या १०३ जनाको नाम मात्र सिफारीस भइ राहत वितरणको लागि पालिकाबाट आएको छ ।























