उदयपुरको सिसाखोलामा पौडी खेल्ने क्रममा दुई बालिका बेपत्ता


उदयपुर, असार २३ । स्थानीय सिसाखोलामा पौडी खेल्ने क्रममा दुई बालिका बेपत्ता भएका छन् । उदयपुरको त्रियुगा नगरपालिका–१४ साउने धाप्लाङका दुई बालिका पौडी खेल्ने क्रममा बगेको स्थानीय बासिन्दाले बताएका छन्। त्रियुगा नगरपालिका–१४ का पूर्ववडाध्यक्ष कुरुङ राईका अनुसार खोलालले बगाउँदा साउनेकै १३ वर्षीया विपना राई र १२ वर्षीया वीना राई बेपत्ता भएका हुन्।
गोठालो गएका दुई बालिका स्थानीय सिसाखोला दोभानमा पौडी खेल्ने क्रममा सिसाखोलाले बगाएर सुनकोसी नदीमा पुगेका थिए। उनीहरु सुनकोशीमा बेपत्ता भएका हुन्। स्थानीय बासिन्दा र प्रहरीले खोजबिन गरे पनि फेला पार्न नसकेको साउनेका अर्का स्थानीय देव मगरले बताए। जिल्ला प्रहरी कार्यालयका प्रमुख सुवास बोहराका अनुसार घटनाबारे प्रहरीमा खबर आएलगत्तै प्रहरी चौकी साउनको टोली घटनास्थल पुगेको थियो।
गए अबेर रातिसम्म खोजबिन भएको थियो। आज पनि बिहानैदेखि खोजी शुरु भएको छ। अहिलेसम्म फेला पार्न नसकिएको बोहराले बताए।























