विनोद शाही हत्या प्रकरण : हत्यामा संलग्न रहेको आरोपमा मेयर पक्राउ


धनगढी, असार १९ । अछामको पञ्चदेवल विनायक नगरपालिका–४ का किशोर विनोद शाहीको हत्यामा संलग्न रहेको आरोपमा सोही नगरपालिकाकी मेयर अम्बिका चलाउने पक्राउ परेकी छिन् ।
जेठ २१ गते बिहान १० बजे विनोद गाउँ नजिकैको भिरमा मृत फेला परेका थिए । उनको हत्या गरिएको भन्दै परिवारले मेयर चलाउनेसहित १३ जनाविरुद्ध जाहेरी दर्ता गरेका थिए । किटानी जाहेरीमा भएका पाँच जनालाई प्रहरीले यसअघि नै पक्राउ गरिसकेका छन् ।
जिल्ला प्रहरी कार्यालय अछामका प्रमुख प्रहरी नायव उपरिक्षक नारायण डाँगीले मेयर चलाउनेको नाममा पनि किटानी जाहेरी परेकाले अनुसन्धानका लागि उनलाई बोलाएको बताए । ‘मेयर चलाउने बोलाएपछि आफैं आउनु भएको हो, उहाँसँगै किटानी जाहेरीमा नाम भएका नेत्र शाहीलाई पनि पक्राउ गरिएको छ’ डिएसपी डाँगीले भने ।
जिल्ला प्रहरी कार्यालय अछामले पनि घटनाको अनुसन्धान अन्तिम चरणमा पुगेको जनाएको छ । केही दिनमै प्रहरीले अनुसन्धान सकेर अनुसन्धान रिपोर्ट अदालतमा पेश गर्ने जनाएको छ ।























