पाँचथरमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु, १ जनाको सकुशल उद्दार

नवलपुर टुडे
२०७९ असार १९ | मध्यान्ह ०३:०३ बजे

पाँचथर, असार १९ । पाँचथरको फालेलुङ गाउँपालिका–७ सिदिनमा पहिरोले घर पुरिँदा ३ जनाको मृत्यु भएको छ ।
शुक्रबार राती गएको पहिरोले स्थानीय रुपलाल मगरको ढुंगा माटोले बनेको ३ तले घर र गाईगोठ समेत पुरिएको थियो । प्रहरीले एक जनालाई भने सकुशल उद्दार गरेका छन् । पहिरो गएको स्थानमा खटिएको प्रहरी चौकी सिदिन र जिल्ला प्रहरी कार्यालय पाँचथरको टोलीले रुपलालका काका ७१ वर्षीय दल प्रसाद मगरलाई सकुशल उद्दार गरेका हुन् ।
पहिरोमा पुरिएर ५५ वर्षीय रुपलाल मगरलाई हिजो बिहान मृत अवस्थामा फेला पारेको थियो । उनको ४२ वर्षीया श्रीमती गोमा मगर र दल प्रसादको १९ वर्षीया नातिनी एलिसा मगरलाई भने आज बिहान फेला पारेको प्रहरीले जनाएकाे छ ।























