चपली सबस्टेसनको ट्रान्सफर्मरमा समस्या आउँदा बिहानैदेखि बूढानिलकण्ठ क्षेत्रमा विद्युत आपूर्ति बन्द


काठमाडौं, असार १५ । बूढानिलकण्ठ नगरपालिकाको चपलीस्थित चपली सबस्टेसनको पावर ट्रान्सफर्मरमा समस्या आएको छ । सबस्टेसनमा रहेका १०/१० एमभिए क्षमताका तीन वटा ट्रान्सफर्मरमध्ये एउटामा बुधबार बिहान ५ बजेतिरबाट समस्या देखिएको हो ।
ट्रान्सफर्मरमा समस्या आउँदा टोखा, मण्डीखाटार, बाँसबारी, धापासी हाइट, बूढानिलकण्ठ, तारेभीर, झोरलगायतका क्षेत्रमा विद्युत आपूर्ति बन्द छ । उक्त ट्रान्सफर्मरबाट पाँच वटा फिडर निकाली ती क्षेत्रमा विद्युत आपूर्ति हुँदै आएको थियो ।
नेपाल विद्युत प्राधिकरण महाराजगञ्ज वितरण केन्द्र प्रमुख प्रज्वलमान श्रेष्ठले सम्भव भएका स्थानमा अन्य सबस्टेसनबाट वैकल्पिक व्यवस्था गरी विद्युत आपूर्ति गरिएको बताए । उनका अनुसार समस्या देखिएको ट्रान्सफर्मरलाई हटाएर जगेडामा रहेको ट्रान्सफर्मर जडान गर्न लागिएको छ ।
नयाँ ट्रान्सफर्मर जडान जतिसक्दो छिट्टो सम्पन्न गरी विद्युत आपूर्ति सुचारू गर्न टोली परिचालित भएको श्रेष्ठले बताए ।























