मुख्य समाचार

अविरल वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्ग र तानसेन–तम्घास सडकखण्ड अवरुद्ध

नवलपुर टुडे
२०७९ असार १५ | बिहान ०७:०३ बजे

बुटवल, असार १५ । गए रातिदेखि परेको अविरल वर्षासँगै खसेको पहिरोले सिद्धार्थ राजमार्गका साथै तानसेन-तम्घास सडकखण्ड अवरुद्ध भएको छ । राजमार्गका दर्जनभन्दा बढी स्थानमा पहिरो खसेको प्रहरीले जनाएको छ ।

मंगलबार रातिदेखि लुम्बिनी प्रदेशको पाल्पा, गुल्मी, स्याङ्जालगायत क्षेत्रमा ठूलो पानी परिरहेकाले सबै स्थानको क्षतिको विवरण अझै प्राप्त नभएको प्रहरीले जनाएको छ । पाल्पाको तानसेन-बुटवल सडक खण्डअन्तर्गत गौडेपुल, कालीमाटी, चर्चरे, हिउँदेखोला, २४ माइल, पानीमिल, सिद्धबाबा क्षेत्रमा दर्जनभन्दा बढी पहिरो खसेर सडक अवरुद्ध भएको छ ।

अविरल वर्षासँगै दोभान प्रहरी चौकीदेखि चिडियाखोलासम्म सिद्धार्थ राजमार्गको ठाउँठाउँमा पहिरो खसेको दोभान प्रहरी चौकीले जनाएको छ । ठूलो वर्षा भइरहेकाले पहिरो गएको स्थानमा जान नसकेको दोभान प्रहरीको भनाइ छ । ठूलो पानी परेकाले पहिरो पन्छाउन केही समय लाग्ने छ ।

सिद्दार्थ राजमार्ग अवरुद्ध हुँदा बुटवलबाट पोखरा, स्याङ्जा, गुल्मी, अर्घाखाँची, बाग्लुङसम्म जाने यात्रु साथै र त्यताबाट बुटवलतर्फ आउने सवारी साधन र यात्रु बाटोमै अलपत्र परेका छन् ।

कमेन्टहरु