मुख्य समाचार

दुई दिन काठमाडौको फोहोर व्यवस्थापन प्रभावित हुने

नवलपुर टुडे
२०७९ असार १४ | मध्यान्ह ०५:०३ बजे

काठमाडौँ, असार १४ । सिसडोलदेखि बञ्चरेडाँडासम्म जाने बाटो मर्मतको काम गर्नुपर्ने भएकाले आज र भोलि काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन कार्य प्रभावित हुने भएको छ ।

नुवाकोटको सिसडोलमा यसअघि थुपारिएको फोहरको कारण बञ्चरेडाँडासम्म गाडी आउनजानका लागि समस्या भएकाले आज र भोलि फोहोर लाने काम रोकिएको हो । सिसडोलदेखि दुई किलोमिटर पर बञ्चरेडाँडासम्म जान यसअघि थुपारिएको फोहोरको डङ्गुर पार गर्नुपर्ने बाध्यता छ ।

वर्षाको समय सुरु भएसँगै फोहोर कुहिन थालेको छ । कुहिएको फोहोर माथिबाट आवतजावत गर्दा दुर्घटना हुने खतरा भएकाले कामपा वातावरण विभागले उपत्यकाबाट फोहर लाने काम बन्द नै गरेर उक्त स्थानमा सफा गर्न लागेको जनाएको छ ।

कामपा वातावरण विभाग प्रमुख सरिता राईका अनुसार केही दिनदेखि नियमित परेको वर्षाका कारण समस्या आएको छ । निरन्तर परेको पानीले काठमाडौँदेखि अन्तिम फोहोर व्यवस्थापनस्थल बञ्चरेडाँडासम्म पुग्ने सडकमा समस्या आउँदा नियमित रूपमा सबै फोहोरका गाडी जान सकेका छैनन् ।

सामान्य अवस्थामा प्रतिदिन ३०० सम्म फोहरका गाडी बञ्चरेडाँडा पुग्ने गरेका थिए । वर्षाका कारण बाटो अवरोध हुँदा अहिले मुस्किलले १०० गाडीले मात्र फोहर व्यवस्थापन हुँदै आएको छ । हरेक वर्ष वर्षात्‌को समयमा नियमित पानी पर्न थालेपछि काठमाडौँ उपत्यकाका १८ स्थानीय तहको फोहर व्यवस्थापन कार्य समस्या बन्दै आएको छ ।

गत फागुनदेखि जेठसम्ममा सिसडोल बञ्चरेडाँडाका स्थानीय र जनप्रतिनिधिले विभिन्न माग राख्दै अवरोध गर्दा काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहोर ४६ दिनसम्म व्यवस्थापन हुन नसक्दा उपत्यकामा दुर्गन्ध नै फैलिएको थियो । सिसडोल बञ्चरेडाँडा स्थानीयवासीको समस्यालाई समाधान गर्न केही दिनअघि स्थानीय र जनप्रतिनिधिसँग कामपाले १८ बुँदे सहमति गरी फोहोर व्यवस्थापनको काम नियमित गर्ने वातावरण बने पनि बाटोको कारण सहज भने भएको छैन ।

यसैबीच कामपाले आगामी साउन १ गतेदेखि स्रोतबाटै फोहोरको वर्गीकरण नगरे जरिवाना लाग्ने भन्दै सूचना जारी गरिसकेको छ । विभागका अनुसार फोहोर सङ्कलनका क्रममा पृथकीकरण नगरेको पाइए हरेक पटक पाँच सय रुपैयाँ जरिवाना गरिनेछ । रासस

कमेन्टहरु