मुख्य समाचार

नवलपुरका किसान महासंघद्वारा जिप्रकामार्फत ज्ञापन पत्र बुझाउदै, माग पुरा नभए तेश्रो चरणको आन्दोलन गर्ने

नवलपुर टुडे
२०७९ असार १२ | मध्यान्ह ०६:०३ बजे

कावासोती । अखिल नेपाल किसान महासंघ नवलपुरले किसानको मागहरू सम्बोधन नभएको भन्दै आज जिल्ला प्रशासन कार्यालय नवलपुर मार्फत प्रधानमन्त्री समक्ष ध्यानाकर्षण गराएको छ । सहायक प्रमुख जिल्ला अधिकारी खिमराज भुसाललाई ज्ञापनपत्र बुझाउँदै अब पनि किसानका मागहरू सम्बोधन नगरिए तेश्रो चरणको आन्दोलन गर्ने चेतावनी दिइएको छ ।

महासङ्घका जिल्ला अध्यक्ष पूर्ण प्रसाद सुवेदीले ज्ञापन पत्र पढेर सहायक प्रमुख जिल्ला अधिकारी भुसाललाई ज्ञापन पत्र बुझाउनु भयो ।

ज्ञापन पत्रमा निम्न माग राखिएका छन :
ज्ञापन पत्रमा अव्यवस्थित रुपमा बसोबास गरेका किसानहरूलाई निजको जोतभोगको आधारमा अविलम्व जग्गा धनी प्रमाण पुर्जा उपलब्ध गराउन, मूल्य वृद्धि फिर्ता रासायनिक मल, बिउ बिजन सर्व सुलभ मूल्यमा समयमै उपलब्ध गराउन । बिग्रेका भत्केका सिँचाइका संयन्त्रहरू चुस्त दुरुस्त पार्न, विषादीयुक्त तरकारी फलफूल आदि वस्तुहरूको आयातमा तत्काल प्रतिबन्ध लगाउन, कृषि उद्यमीहरू र किसानलाई लक्षित गरि कृषि विकास बैंक मार्फत सहुलियत दरमा कृषि ऋण उपलब्ध गराउन, लक्षित किसानलाई मात्र कृषि ऋण उपलब्ध गराई सम्बन्धित निकायबाट नियमित अनुगमन गर्न, प्रत्येक पशुपालक कृषि फर्म र किसानका लागि भेटनरी प्राविधिकको व्यवस्था गरि समस्या पहिचान गर्दै समस्याको निराकरण गर्न, कृषि उपजहरूको बजारको उचित व्यवस्थापन गर्न, पालिकाका प्रत्येक वडाहरूमा उत्पादन क्षमताको आधारमा कोल्ड स्टोरको व्यवस्थापन र कृषक परिचय पत्र तथा कृषक पेन्सन योजना तत्काल लागू गर्न माग गरिएको छ ।

किसानको समस्या समाधान गर्न यस अघि महासङ्घले जेठ २० गते प्रमुख जिल्ला अधिकारी मार्फत नेपाल सरकारका सरोकार वाला पक्ष प्रधानमन्त्रीको कार्यालय, कृषि मन्त्रालय, साल्ट टेडिङ्ग कर्पोरेसन र कृषि सामाग्री लिमिटेडलाई ध्यानाकर्षण गराएको थियो ।

तर, उक्त मागहरू समाधानमा कुनै पहल नभएको महासङ्घको गुनासो छ । दोश्रो चरणका आन्दोलन अन्तरगत आज प्रदेशका मुख्य मन्त्रीको कार्यालयमा धर्ना, जिल्ला प्रशासन कार्यालय नवलपुरमा धर्ना तथा विरोध प्रदर्शन गरिएको छ । आफ्ना मागहरू अब पनि सम्बोधन नगरिए तेश्रो चरणको आन्दोलन गर्न महासंघ बाध्य हुने अध्यक्ष सुवेदीले बताउनुभयो ।

तेश्रो चरण अन्तरगत मल आपूर्ति गर्ने सरकारका निकायहरू साल्ट टेडिङ्ग कर्पोरेसन र कृषि सामाग्रीका डिपोहरूमा तालाबन्दी गर्ने र स्थानीय समस्याहरू उठाउँदै सचेतनात्मक ढंगले आन्दोलन गर्ने जनाईएको छ ।

कार्यक्रममा महासङ्घका जिल्लाका पदाधिकारीहरू उपाध्यक्ष यदुनाथ ढकाल, सचिव दीपक बस्याल, सहसचिव भूपराज चापागाईं, सदस्यहरू हिरा बस्याल पार्वती भण्डारी तथा विशेष उपस्थितमा अखिल नेपाल किसान महासंघ पशुपालक विभाग केन्द्रिय सदस्य रुक्मागत भुर्तेल, अखिल नेपाल किसान महासंघ राष्ट्रिय समितिका दुर्गा प्रसाद भुर्तेल, बिन्दा गैरे लगायत रहनुभएको थियो । महासंघले अब पनि माग पूरा नभए सशक्तरुपमा आन्दोलन गर्नेसमेत बताएको छ ।

कमेन्टहरु