गृहमन्त्री खाणले गरे हजयात्रीलाई बिदाइ


काठमाडौं, असार १० । गृहमन्त्री बालकृष्ण खाणले साउदी अरबको मक्कामदिनामा हजयात्रा गर्न जाने हजयात्रीहरुलाई बिदाइ गरेका छन् । गृहमन्त्री खाणले आज बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेर ११३ हजयात्रीलाई बिदाइ गरेका हुन् ।
यस वर्ष हजका लागि नेपाललाई छुट्टयाइएको ५५५ जनाको कोटामध्ये आज अन्तिम टोली हज गर्नका लागि त्यसतर्फ प्रस्थान गरेको हो । हजयात्रीलाई बिदाइ गर्दै गृहमन्त्री खाणले सरकारले सबै धर्मलाई सम्मान गर्ने बताए । उनले हज गर्न जाने परम्पराले विश्वभरमा नेपालको पहिचान गराउँदै भाइचाराको सम्बन्ध पनि विस्तार हुने बताए ।
हजयात्रीलाई बिदाइ गर्न नेपाली काङ्ग्रेसका सह महामन्त्री महेन्द्र यादव, नेपाल हज समितिका अध्यक्ष शमशेर मियाँ सहितको उपस्थिति थियो । असार ६ गतेदेखि एयर अरेबियाको हवाइ जहाजबाट दैनिक एक टोली हज गर्न जाने गरेको थियो । हज यात्रा गरेर प्रत्येक टोली ३४ दिनपछि नेपाल फर्कनेछ ।
नेपालबाट हजयात्रामा जाने टोलीको साउदीमा जेब्दास्थित महावाणिज्यदूतावासले समन्वयको काम गर्छ। महावाणिज्यदूतावासबाट १० जनाको स्वयमसेवक टोली हजयात्रीको व्यवस्थापनका लागि खटिएको छ। टोलीमा ८ जना डेलिकेट्स् र ३ जना मेडिकल सपोर्ट टीम सहभागी छ। हज यात्रा गरेर प्रत्येक टोली ३४ दिनपछि नेपाल फर्कनेछ।























