अर्थमन्त्रीको राजीनामा माग गर्दै विराटनगरमा उद्योगी व्यवसायीहरुको प्रदर्शन


विराटनगर, असार ९ । विराटनगरमा अर्थमन्त्री जनार्दन शर्माको राजीनामा माग गर्दै उद्योगी–व्यवसायीहरुले प्रदर्शन गरेका छन् । सरकारले स्टिलजन्य वस्तु र स्यानेटरी प्याडसँग सम्बन्धित आफ्ना मागहरु सम्बोधन नगरेको भन्दै उनीहरुले प्रदर्शन गरेका हुन् ।
उद्योग संगठन मोरङको नेतृत्व भएको उक्त प्रदर्शनमा मजदूर तथा ट्रेड युनियनहरुको समेत साथ रहेको छ । सुनसरी–मोरङ औद्योगिक कोरिडोरमा भएको विरोध प्रदर्शनमा उनीहरुले सरकारले कर लिएर पनि व्यवसायी र मजदुर मार्ने नीति अपनाएको भन्दै अर्थमन्त्री शर्माको राजीनामा माग गर्दै नाराबाजी गरेका छन् ।
सरकारले आर्थिक वर्ष २०७९/०८० को बजेटमार्फत जिआई वायर, वनस्पति घिउ र स्यानिटरी प्याड लगायत उद्योगका लागि त्रुटिपूर्ण व्यवस्था गरेको र यस व्यवस्थाले स्वदेशी उद्योगहरु मर्कामा पर्ने प्रदर्शनकारीहरुको भनाई छ । एकातिर स्वदेशी उद्योगलाई संरक्षण गर्ने भनेर अर्थमन्त्रीले नै भन्ने र अर्कातिर उक्त वस्तु आयातमा भन्सार कटौती गरेर दोहोरो चरित्र देखाएको उनीहरुको आरोप छ ।
यसअघि तीनवटा उद्योगी व्यवसायीका संगठन र चारवटा मजदुर संगठनले अर्थ मन्त्रालयमा पत्र पठाएर उक्त व्यवस्थालाई हेरफेर गर्न बुधबारसम्मको अल्टिमेटम दिएका थिए । तर सरकारले आफूहरुको माग सम्बोधन नगरेकोले आन्दोलनमा उत्रनु परेको प्रर्दशनकारीहरुले बताए ।























