रवि लामिछानेले घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ खारेजीको माग गर्दै निर्वाचन आयोगमा उजुरी


काठमाडौं, असार ८ । संचारकर्मी रवि लामिछानेले घोषणा गरेको ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ विरुद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । लामिछानेले मंगलबार निर्वाचन आयोगमा ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताको लागि निवेदन दिएका थिए ।
बुधबार निर्वाचन आयोग पुगेर छ–सात जनाको एक टोलीले ‘स्वतन्त्र’ उम्मेदवारलाई नै भ्रम पर्ने गरी नाम राखिएको भन्दै पार्टीको नामबाट ‘स्वतन्त्र’ शब्द हटाउन माग गर्दै उजुरी गरेका हुन् । स्वतन्त्र उम्मेदवारी अभियान्ता डम्बर साहुले ‘स्वतन्त्र’ शब्द हटाई अन्य शब्द प्रयोग गर्न आग्रह गरेका छन् ।
प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियालाई सम्बोधन गर्दै उजुरी पत्रमा भनिएको छ -‘कुनै पनि व्यक्तिले राजनीतिक पार्टीमा आबद्ध हुन चाहँदैन र स्वतन्त्र रुपमा चुनावमा उम्मेदवारी दिन र निर्वाचित हुन पाउनेगरी संविधानले दिएको अधिकार छिनेर स्वतन्त्रको नाममा पार्टी गठन गर्नु भनेको स्वतन्त्रको उम्मेदवारीमा भ्रम र अन्यौल उत्पन्न भएको छ ।’























