वायुसेवा सञ्चालक सङ्घको उडान सेवा बन्द गर्ने निर्णय आंशिक रूपमा फिर्ता

नवलपुर टुडे
२०७९ असार ८ | बिहान ०६:०३ बजे

काठमाडौं, असार ८ । नेपाल वायुसेवा सञ्चालक सङ्घले बुधबारदेखि गर्ने भनिएको आन्तरिक उडान बन्दको निर्णय आंशिक रूपमा फिर्ता भएको छ ।
नेपाल नागरिक उड्डयन प्राधिकरण र नेपाल वायुसेवा सञ्चालक सङ्घबीच मङ्गलबार राति भएको वार्ताबाट बुधबार बिहान ११ बजेपछि देशभरका आन्तरिक उडान सुचारु गर्ने सहमति भएको हो ।
राति ११ बजे सकिएको वार्तामा वायुसेवा सञ्चालक सङ्घले अघि सारेका पाँच बुँदे मागबारे बुधबार दिउँसो पुनः छलफल गर्नेगरी बुधबारका लागि हवाई यातायात नियमित राख्ने सहमति भएको हो ।
वायुसेवा कम्पनीले कुनै पूर्वसूचनाबिना हवाई सेवा बन्द गर्ने घोषणा गरेपछि यात्रुहुरु अन्योलमा परेका थिए । यद्यपि बुद्ध र यती एयरलाइन्सले भने सबै उडान नियमित हुने जनाएका छन् ।























