मुख्य समाचार

हुम्लामा सात कुकुरको टोकाइबाट एक महिला गम्भीर घाइते

नवलपुर टुडे
२०७९ असार ७ | मध्यान्ह ०३:०३ बजे

बुटवल, असार ७ । हुम्लामा कुकुरको टोकाइबाट एक महिला गम्भीर घाइते भएकी छिन् । सिमकोट गाउँपालिका – ५ की ४२ वर्षिया सप्पा रावतलाई आज बिहान एयरपोर्ट रानीवनको नजिकै आफ्नो जग्गामा गोडमेल गर्न जाँदा कुकुरले आक्रमण गरेर गम्भीर घाइते बनाएका हुन् ।

स्थानीय नरजन तामाङका अनुसार उनलाई ६/७ वटा कुकुरले टोकेर शरीरभरि घाउ बनाएका छन् । सप्पा रावतलाई फुटबल प्रशिक्षक विष्णु रावत लगायतको टोलीले उद्धार गरेको तामाङले बताए । “रानीवन क्षेत्रमा सातवटा भुस्या कुकुर छन् । यसअघि पनि दुई तीनजनालाई ती कुकुरले टोकेर गम्भीर घाइते बनाइसकेका छन्,” उनले भने, “घाइतेको शरीरभर घाउ नै घाउ छ ।”

सरोकारवाला निकायलाई कुकुरको व्यवस्थापन गर्न दबाब दिँदै स्थानीयले आन्दोलन गरिरहेको तामाङले बताए । जिल्ला प्रशासन कार्यालय हुम्लाकाअनुसार जिल्लामा सामान्य उपचार गरी घाइतेलाई थप उपचारका लागि नेपालगञ्ज पठाइएको छ ।

कमेन्टहरु