मन्त्री आलेलाई बर्खास्त गर्न पर्यटन व्यवसायका छाता संगठनहरुको माग


काठमाडौं, असार ६ । पर्यटन व्यवसायका छाता संगठनहरुले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेलाई बर्खास्त गर्न माग गरेका छन् । मन्त्री आलेले अश्लील बोलेको अर्को अडिओ बाहिरिएसँगै नेपाल पर्यटन व्यवसायी संघ, नेपाल पर्यटन व्यवसायी संगठन र नेपाल राष्ट्रिय पर्यटन व्यवसायी संगठनले संयुक्त वक्तव्य पत्र जारी गर्दै प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष आलेलाई बर्खास्तको माग गरेका हुन् ।
मन्त्री प्रेम आलेले विगतदेखि वर्तमानसम्म सर्वसाधारणदेखि मातहतका कर्मचारीमाथि असभ्य र अश्लील गाली बेइज्जती र गुण्डागर्दी पदीय मर्यादा र जिम्मेवारीलाई बिर्सेर कार्यकर्ता माथी हातपात गरेको भन्दै ती संगठनले आपत्ति जनाएका छन् । ‘आफ्ना कार्यकर्ताहरूलाई जागिर नलगाएको भन्दै नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई आफ्नो कार्यकक्षमा बोलाएर हातपात गर्नुसम्मका दुर्व्यवहारजन्य र मन्त्री प्रेम आले एकपछि अर्को विवादमा मुछिदै स्वयम् त ईतिहासकै बद्नाम मन्त्री भएकै छन् तर सरकार र हामी निजी क्षेत्रले समेत शिर निहुराउनु पर्ने लज्जास्पद अवस्था सृजना भएको छ’, वक्तव्य पत्रमा भनिएको छ ।
ती संगठनले लुम्बीनी विकास कोषको गुरुयोजनामा आलेले चलखेल गरेको आरोप लगाएका छन् । ‘लुम्बिनी विकास कोषको गुरुयोजना अनुसार आध्यात्मिक अभ्यासका लागि छुट्याइएको लुम्बिनी ग्रामको चार बिघा क्षेत्रलाई मन परेको व्यवसाय कम्पनीसँग सीधै प्रस्ताव माग गरेर कुनै प्रक्रिया नै पूरा नगरी व्यावसायिक रिसोर्टको अनुमतिको ठाडो आदेश दिने मन्त्री आलेको नियतमाथि पनि निजी क्षेत्र सशंकित छौं ‘, तीन संगठनले भनेका छन् ।
उनीहरुले केही समय पहिले आफ्नो विवादास्पद अभिव्यक्ति मात्रको कारण तत्कालीन कानुन, न्याय तथा संसदीय मामिला मन्त्री शेर बहादुर तामाङले राजीनामा दिनुपरेको स्मरण गराएका छन् ।
























