मुख्य समाचार

आधा दर्जन ठाउँमा पहिरो : बेसीसहर–चामे सडक अवरुद्ध

नवलपुर टुडे
२०७९ असार ६ | बिहान ०७:०३ बजे

लमजुङ । गए रातिदेखि परेको अविरल वर्षाका कारण बेँसीसहर–चामे सडकखण्डको आधा दर्जन स्थानमा पहिरो जाँदा सडक अवरुद्ध भएको छ।

यस सडक खण्डमा पर्ने बेँसीसहर नगरपालिका–६ खरखरे भिर, बेलौती विसना, मस्र्याङ्दी गाउँपालिकाका खुदी, खुदी भुलभुले लगायतका स्थानमा पहिरोले सडक अवरुद्ध भएको डुम्रे–बेँसीसहर–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी एवं इञ्जीनियर पुरुषोत्तम अधिकारीले जानकारी दिए।

मनाङ र लमजुङ जोड्ने एकमात्र बेँसीसहर–चामे सडक हो। खरखरेमा मर्स्याङ्दी नदीले तलबाट सडक तान्ने र सडकमाथिबाट ठूला–ठूला ढुङ्गा, माटोसहितको पहिरोले सडक अवरुद्ध भएको छ।

यस्तै यस सडकखण्डका विभिन्न स्थानमा सडकमाथिबाट पहिरो आउँदा सडक अवरुद्ध भइरहेको स्थानीयवासीको भनाइ छ। यी स्थानको अवरुद्ध सडक खुलाउनका लागि तत्काल सम्भव नभएको इञ्जीनियर अधिकारीको भनाइ छ।

यस सडकमा बर्सेनि पहिराले पटक–पटक सडक अवरुद्ध हुँदा यात्रुले सास्ती भोग्दै आएका छन्। विशेषगरी मनाङका स्थानीय बेँसीसहर हुँदै विभिन्न जिल्ला जानका लागि एकमात्र सडक रहेकाले यो सडक बन्द हुँदा समस्यामा पर्ने गर्दछन्। – रासस

कमेन्टहरु