सरकारसँग पाँच बुदे सहमति भएपछि निहारिकाले तोडिन् अनसन


काठमाडौं, असार ३ । जेठ २७ गतेदेखि आमरण अनसनमा बसेकी महोत्तरी जलेश्वर–९ की सोनाली कुमारी सिंह (निहारिका)ले अनसन तोडेकी छन् । बिहीबार बेलुका सरकारसँग ५ बुँदे सहमति भएसँगै गृहमन्त्री बालकृष्ण खाँणको हातबाट जुस खाएर उनले अनसन तोडेकी हुन् ।
गृह र नेकारिकाबिच प्रतिवादी शिवराम श्रेष्ठ र निहारिकाका छोराको डीएनए परीक्षणको कानुनी प्रक्रिया अघि बढाउन पहल गर्ने, निहारिका र उनको छोराको सुरक्षा आवास व्यवस्थापनका लागि गृह मन्त्रालय र महिला मन्त्रालयमार्फत पहल गर्ने, न्याय प्राप्तिका लागि राज्यका सम्पूर्ण निकाय पीडितमैत्री बनाउन पहल गर्ने, अनसनकर्ताको आर्थिक सहायताका लागि गृह मन्त्रालयमार्फत पहल गर्ने लगायतका सहमति भएको छ ।
सहमति पत्रमा गृहका सहसचिव शिवराम पोखरेल, उपसचिव बसन्त भट्टराई, अनसनकर्ता निहारिका, सावित्री सुवेदी, सुनिता गौतम र लोग्शरी कुँवरले हस्ताक्षर गरेका छन् । यता उच्च अदालत जनकपुरले बिहीबारै निहारिकाको मुद्दाका अभियुक्त शिवराज श्रेष्ठलाई झिकाउने आदेश दिएको थियो । उच्च अदालतमा मुद्दा दर्ता गराएपनि पेशी तोक्नमै ढिला भएको भन्दै उनले अनसन थालेकी थिइन् ।























