काठमाडौबाट ५१ किलो लागूऔषध हेरोइनसहित ६ विदेशी पक्राउ


काठमाडौं, असार २ । काठमाडौबाट विश्वकै महँगो लागूऔषध मध्य एक मानिने खैरो हेरोइन ठूलो परिमाणमा बरामद भएको छ ।
लागूऔषध नियन्त्रण ब्यूरो (एनसीबी) काठमाडौंले चलाएको एक साता लामो ‘अपरेशन ह्वाइट डस्क’ मार्फत त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल र ठमेल क्षेत्रबाट ५१ किलो हेरोइनसहित ६ जना विदेशी नागरिक पक्राउ परेको हो । उनीहरुबाट बरामद खैरो हिरोइनको अवैध बजार मूल्य एक अर्ब २ करोड रहेको ब्यूरोका एसपी जीवन श्रेष्ठले बताए ।
बरामदमध्ये ४९ किलो सेतो हेरोइन र २ किलो खैरो हेरोइन रहेको विधि विज्ञान प्रयोगशालामा गरेको परीक्षणबाट पुष्टि भएको छ । एसपी श्रेष्ठका अनुसार दक्षिण अफ्रिकाबाट आएका केही महिलाहरुलाई पटकपटक लागूऔषध हेरोइनसहित पक्राउ गरेको विगतको अुनभवका कारण क्रिमिनल प्रोफाइलिङ गरेर निरन्तर निगरानी गर्दा उनीहरु पक्राउ परेका हुन् ।
पक्राउ परेकाहरुमाथि लागूऔषध नियन्त्रण ऐन २०३३ अनुसार जिल्ला अदालत काठमाडौंबाट ७ दिन म्याद थप गरेर विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।























