पत्रकारमाथि दुर्व्यवहार गरेको भन्दै बालेन शाहप्रति पत्रकार महासंघको आपत्ति


काठमाडौं, असार १ । काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ । हिमालय टेलिभिजनका पत्रकारमाथि दुर्व्यवहार गरेको भन्दै महासंघले आपत्ति जनाएको हो ।
बुधबार दिउँसो १ः०० बजे टेकुस्थित वातावरण विभागमा रिपोर्टिङका लागि पुगेका टेलिभिजनका पत्रकारद्वय प्रिन्स मिश्र र अष्भिट लामालाई साहले बुम र क्यामेरा देख्नेवित्तिकै दुर्व्यवहार गर्दै खिचिएका सामग्रीसमेत मेटाउन लगाएको महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
महानगरपालिकाले डम्पिङ साइडबाट सञ्चालन गर्ने ग्यास प्लान्ट र फोहोरको अवस्थाबारे समाचार संकलनका लागि पत्रकारद्वय त्यहाँ पुगेका थिए । स्वतन्त्र रूपमा सञ्चारकर्ममा जुटेका पत्रकारलाई महानगरपालिकाका प्रमुख जस्तो व्यक्तिले यस्तो किसिमको हर्कत गर्नु निन्दनीय हुनुका साथै प्रेस स्वतन्त्रतामाथिको हस्तक्षेप भएको महासंघको ठहर छ ।
महासंघले संविधानले सुनिश्चित गरेको पत्रकारको स्वतन्त्रता र अधिकारको ख्याल गरी आइन्दा यस्ता कार्य नदोहोर्याउन सम्बन्धित पक्षको ध्यानाकर्षण समेत गराएको छ ।























