ट्रिनिटी कलेजका सुरक्षा गार्डमाथि खुकुरी प्रहार गरेको आरोपमा ४ जना विद्यार्थी पक्राउ


काठमाडौं, असार १ । काठमाडौको ट्रिनिटी कलेजमा कार्यरत सुरक्षा गार्डलाई खुकुरी प्रहार गरेको आरोपमा ४ जना विद्यार्थी पक्राउ परेका छन् ।
काठमाडौं महानगरपालिका वडा नं २९ कालिकास्थानस्थित ट्रिनिटी कलेजमा मानविकी संकायमा कक्षा ११ मा अध्यनरत विद्यार्थीहरुले बुधबार दिउँसो साढे १ को समयमा सुरक्षा गार्डलाई धारिलो हतियार प्रहार गरी घाइते बनाएका जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ । घटना भएलगत्तै प्रहरी बृत्त सिंहदरबारबाट खटिएको टोलीले सुरक्षा गार्डलाई उद्धार गरी मोडेल अस्पताल पुर्याएको थियो । धारिलो हतियारको प्रहारबाट गार्डको बायाँ कानमुनि चोट लागेको छ । उनी अस्पतालमा उपचार गरी डिस्चार्ज भएको प्रहरीले जानकारी दिए ।
घटनामा संलग्न रहेको आरोपमा म्याग्दीको बेनी नगरपालिका वीरमुनी घर भई हाल तारकेश्वर नगरपालिका बानियाँटार बस्ने १८ वर्षीय जोसेन बानियाँ, रामेछाप मन्थली नगरपालिका घर भई काठमाडौं डिल्लीबजार बस्ने १८ वर्षीय बिपिन खत्री, ओखलढुङ्गा मानेभञ्याङ्ग घर भई हाल काठमाडौं घट्टेकुलो बस्ने १८ वर्षीय प्रतिक खतिवडा र टोखा बस्ने १८ वर्षीय सञ्जिब भण्डारी (अनमोल) पक्राउ परेका छन् ।
करिब १० दिन अगाडि कलेज प्राङ्गणमा बास्केटवल खेल्ने क्रममा बिवाद भई दुई पक्षबीच झै-झगडा हुन लागेको थियो । उक्त झगडा रोक्न जाँदा कलेजका सुरक्षा गार्डउपर नै आक्रमण भएको थियो । उक्त घटनाको सम्बन्धमा प्रहरी बृत्त सिंहदरबारबाट थप अनुसन्धान भई रहेको छ ।























