सप्तरीका मिटरब्याजी रामदेव साहकी छोरी अनुराधा पक्राउ


सप्तरी, जेठ ३० । मिटरब्याजको धन्दा चलाई विपन्न परिवारलाई उठिबास लगाउने सप्तरीका मिटरब्याजी रामदेव साह तेलीकी छोरी अनुराधा साह तेलीलाई प्रहरीले पक्राउ गरेको छ । ठगी र आपराधिक विश्वासघात मुद्दाका फरार प्रतिवादी अनुराधा साहलाई काठमाडौं उपत्यका अपराध महाशाखाले सोमबार पक्राउ गरेको हो ।
महाशाखाका सूचना अधिकारी एसपी दिनेश कुमार आचार्यका अनुसार सप्तरी प्रहरीको अनुरोधमा प्रतिवादी अनुराधा कुमारी साहलाई काठमाडौंको बुद्धनगरबाट पक्राउ गरिएको हो । साविकको खरहनी गाविस वडा नम्बर ५ धनुषाकी ४५ वर्षीय साहलाई जेठ २८ गते प्रहरीले बुद्धनगरबाट पक्राउ गरेको थियो । त्यसलगत्तै जेठ २९ गते साहलाई इलाका प्रहरी कार्यालय, कल्याणपुर सप्तरीमा पठाइएको हो ।
अनुराधाले बुवा रामदेव साह तेलीसँग मिलेर मिटरब्याजमा पैसा दिने र त्यसबापत अवैधानिक रुपमा कैयौं गुणा बढी रकम असुल्ने गरेको प्रहरीमा उजुरी परेको छ । अनुराधाले बुवा रामदेवसँग मिलेर ठगी र आपराधिक विश्वासघात गरेको भन्दै अनुसन्धान प्रयोजनका लागि पक्राउ गरिएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले केही दिनअघि मात्रै सप्तरीका मिटरब्याजी रामदेवलाई तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाउन निर्देशन दिएका थिए । तेलीले सर्वसाधारणसँग चर्को ब्याज असुल्ने गरेको गुनासोपछि प्रधानमन्त्रीले कारवाही गर्न निर्देशन दिएका थिए ।























