सप्तरीका मिटरब्याजी रामदेव तेलीलाई तत्काल पक्राउ गर्न प्रधानमन्त्रीको निर्देशन


काठमाडौं, जेठ २७ । प्रधानमन्त्री शेरबहादुर देउवाले सप्तरीमा मिटरब्याज धन्दा चलाएर विपन्न नागरिकको उठीवास लगाएका रामदेव तेलीलाई तत्काल पक्राउ गरी अनुसन्धान अगाडि बढाउन निर्देशन दिएका छन्।
आज बालुवाटारमा गृहमन्त्री बालकृष्ण खाँणलाई बोलाएर प्रधानमन्त्री देउवाले सो निर्देशन दिएको प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द परियारले जानकारी दिए। मिटरब्याजी तेलीका कारण सप्तरीका नागरिकहरु सुकुम्बासी बनेको विषयमा बिहीबार र शुक्रबारको संसदमा समेत उठेको थियो।
सप्तरीको खडक नगरपालिकाको कल्याणपूर घर भएका ६७ वर्षीय रामदेव साहु तेलीले डेढ दशकदेखि मिटरब्याज धन्दा चलाएर सर्वसाधरणबाट अवैधानिक रुपमा करोडौं असुलेको र घरखेत समेत बन्धकी राखेर फिर्ता नदिएको सार्वजनिक भइरहेको छ।
पीडितले प्रहरीमा उजुरी दिएपनि पक्राउ नपरेपछि शुक्रबार प्रधानमन्त्री आफैले घटनामा ध्यानाकर्षण जनाउँदै पीडकलाई तत्काल पक्राउ गरेर अनुसन्धान र कारवाही प्रकृया अगाडि बढाउन गृहमन्त्रीलाई निर्देशन दिएका हुन्। पीडक तेली हाल धरान उपमहानगरपालिका–१९ धनकुटे चोकमा बस्दै आएको बताइएको छ।























