तनहुँको व्यास नगरपालिका–९ गजुरे स्वास्थ्य चौकीमा कार्यरत नर्समाथि कुटपिट


नवलपुर, जेठ २६ । तनहुँको व्यास नगरपालिका–९ गजुरे स्वास्थ्य चौकीमा कार्यरत अनमी प्रजापती कुमालमाथि कुटपिट भएको छ । बुधबार बिहान साढे सात बजेको समयमा कुमालमाथि सोही वडाको गजौडे गाउँकी अस्मिता गोदारले कुटपिट गरेकी हुन् ।
गजुरे स्वास्थ्य चौकीको बर्थिङ सेन्टमा कार्यरत कुमाल सेन्टरकै माथिल्लो तलामा रहेको क्वार्टरमा सुतिरहेको बेला अस्मिताले कोठा बाहिर बोलाएर कुटपिट गरेको व्यास नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए । अस्मिताले मुक्का र लात्तीले हान्दै, घाँटी थिच्दै, भित्तामा टाउको ठोक्काउदै घाइते बनाएर तल्लो तलासम्म लछारपछार गरी ल्याएको सोतीले बताए ।
घाइते कुमाललाई स्वास्थ्य चौकीकै स्टाफ र स्थानीयले अस्मिताबाट छुटाएका थिए । अहिले कुमालको तनहुँको दमौली अस्पतालमा उपचार भइरहेको छ भने अस्मितालाई दमौली प्रहरीले नियन्त्रणमा लिइएको छ । घाइते कुमालको दाहिने आँखामा र टाउकोको पछाडिको भागमा चोट लागेको स्वास्थ्य शाखा प्रमुख सोतीले जानकारी दिए ।
आफूमाथि एक्कासि आक्रमण भएको कुमालले बताएकी छिन् । घटनाको कारणबारे अनुसन्धान भइरहेको दमौली प्रहरीले जनाएको छ ।























