मुख्य समाचार

अछाममा विनोद शाही मृत्यु प्रकरणः पाँच जना पक्राउ

नवलपुर टुडे
२०७९ जेष्ठ २५ | बिहान १०:०२ बजे

अछाम । जिल्लाको पञ्चदेवल विनायक नगरपालिका – ४ का विनोद शाहीको हत्यामा संलग्न भएको आशंकामा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सोही वडाका सुरत शाही, देबेन्द्र शाही, राम शाही, मिलन र महेन्द्र शाही रहेको प्रहरीले जानकारी दिएको छ ।

उनीहरु सबैलाई विनोदलाई भीरबाट खसाले मारेको आशंकामा प्रहरीले अनुसन्धान सुरु गरेको छ । पीडित परिवारले न्यायको लागि माग गर्दै दिनहुँ विरोध प्रदर्शन गरिरहेका छन् । परिवारको किटानी जाहेर दर्ता नगरेर प्रहरीले दोषीलाई बचाउन खोजेको आरोप लागिरहेको बेला पाँच जना नियन्त्रणमा आएका हुन् । घटनामा संलग्न अन्यको खोजीकार्य भइरहेको प्रहरीले बताएको छ ।

विनोद घटना सडकदेखि संसदसम्म पुगेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै सांसदहरुले दोषीलाई कानुनी दायारामा ल्याउन माग गरेका छन् । गत बैशाख ३० गते स्थानीय चुनावको मतदान भइरहेको बेला नेपाली काँग्रेस र नेकपा एमालेबीच भएको विवाद बढ्दै गएपछि घटना भएको हो । काँग्रेस कार्यकर्ताहरुले चुनावमा फर्जी मत हालेको भन्दै भन्दै एमाले कार्यकर्ताहरुले विरोध जनाएपछि कुटाकुटको अवस्था सिर्जना भएको थियो । दुबै पक्षबीच मतदानलाई सूचारु गर्ने सहमति भएको थियो । चुनावमा नेपाली काँग्रेसले जितेपछि उक्त विवाद फेरि सुरु भएको थियो ।

काँग्रेस र एमाले कार्यकर्ताबीच पुनः विवाद बढेपछि जेठ १७ गते मध्यराति प्रहरी गाउँमा पसेर वृद्धावृद्ध र महिला-बालबालिकालाई लछारपछार गरेको थियो । त्यही रातबाट विनाेद हराएका थिए । परिवारले खोजीकाे लागि प्रहरीलाई खबर गरेका थिए । जेठ २१ गते घरबाट करिब ५ सय मिटर टाढा पञ्चदेल क्याम्पसको भीरमा विनोदको शव भेटिएको थियो । अहिले पनि शव परिवारले बुझेका छैनन् । मुचुल्का उठाएपनि शवको पाेष्टमार्टम समेत हुन सकेको छैन ।

परिवारले दोषीलाई कारवाहीको माग गर्दै विनायकमा विरोध प्रदर्शन गरिरहेका छन् । यसैबीच परिवार र आफन्तले काठमाडौंमा पत्रकार सम्मेलनको आयोजना गरेर संघर्षका कार्यक्रम गर्दैछन् । आज दिउँसो १ बजे पत्रकार सम्मेनको आयोजना गरेर ज्ञापनपत्र बुझाउनेदेखि विरोध प्रदर्शनसम्म चरणवद्ध रुपमा संघर्षका कार्यक्रम घोषणा गर्ने तयारी भइरहेको जनाईएको छ ।

कमेन्टहरु