काठमाडौंको फोहोर आजबाट उठाइँदै


काठमाडौं, जेठ २४ । काठमाडौं उपत्यकाको फोहोर आजबाट उठाइने भएको छ । सिसडोल र बन्चरेडाँडामा फोहोर लैजान दिने सहमति भएसँगै काठमाडौं उपत्यकाको फोहोर उठाइने भएको हो ।
सोमबार सहरी विकास मन्त्रालयमा बसेको मन्त्री रामकुमारी झाँक्रीसहित काठमाडौं महानगरपालिका र प्रभावित क्षेत्रका प्रतिनिधिबीचको सर्वपक्षीय छलफलमा काठमाडौंको फोहोर उठाएर सिसडोल र बन्चरेडाँडा लैजान दिने सहमति जुटेको हो ।
सहमतिअनुसार सहरी विकास मन्त्रालयले आगामी आर्थिक वर्षमा प्रभावित क्षेत्रका पाँच वटा सडक निर्माणका लागि ४२ करोड ५० लाख, नदी नियन्त्रण,सामुदायिक भवन मन्दिर निर्माण र वृक्षरोपण कार्यक्रमका लागि एक करोड ७० लाख विनियोजन गर्नेछ । जसका लागि जम्मा दुई करोड १२ लाख रुपैयाँ खर्च गर्ने सहमति भएको छ ।
त्यस्तै, वातावरणीय प्रभाव मूल्यांकनको प्रतिवेदन प्राप्त भएपछि अधिग्रहण गर्नुपर्ने जग्गा एकिन गरी प्रक्रिया सुरु गर्ने, सिफारिसको आधारमा प्रभावित क्षेत्रको स्थायी बासिन्दा लागि १० शय्याको अस्पताल सञ्चालनका लागि सरकारलाई अनुरोध गर्ने सहमति पनि भएको छ ।
काठमाडौं महानगरपालिकाले प्रभावित धुनिवेसी नगरपालिका वडा नं १,३,४ र ककनीको वडा नं १,२ र ३ का प्रभावित क्षेत्रका बासिन्दाको स्वास्थ्य बिमा गर्नुपर्नेछ भने पूर्वाधार विकासका लागि विगतमा उपलब्ध गराउँदै आएको अनुदानलाई निरन्तरता दिइने छ । १० दिनभित्रमा रासायनिक र जैविक उपचार गरी सिसडोल क्षेत्रको दुर्गन्ध हटाउने कामको सुरुवात पनि गरिने सहमति पत्रमा उल्लेख छ ।
सहमतिपत्रमा सहरी विकास मन्त्रालयकोतर्फबाट बन्चरेडाँडा फोहोर व्यवस्थापन आयोजनाका आयोजना निर्देशक रवीन्द्र बोहरा, काठमाडौं महानगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत तर्फबाट लोकनाथ पौडयाल र धुनिबेँशी नगरपालिकाको तर्फबाट प्रमुख प्रशासकीय अधिकृत हरिदत्त कँडेलले हस्ताक्षर गरेका छन् ।

























