बालेन शाहलाई प्रचण्डले भने, ‘तपाईंको जित ठूलो क्रान्ति हो’


काठमाडौं, जेठ २१ । काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डसँग भेटवार्ता गरेका छन् । शनिबार बिहान अध्यक्ष निवास खुमलटारमा पुगेर मेयर शाहले भेटवार्ता गरेका हुन् ।
भेटमा प्रचण्डले बालेनलाई बधाई दिँदै देश र जनतालाई सर्वोपरी ठानेर काम गर्न आग्रह गरेका छन् । शाहले काठमाडौँकाे फोहोर व्यवस्थापनको समस्या समाधानका लागि विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुलाई भेटेर दबाब दिँदै आइरहेका छन् । यस अघि उनले प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी ओलीसँग भेट गरिसकेका छन् ।
शाहसँगको भेटमा अध्यक्ष प्रचण्डले राम्रो काममा आफ्नो हर हमेशा साथ रहने बताएका छन् । प्रचण्डले भने ‘तपाईंको जित बहुत ठूलो कुरा हो, क्रान्ति हो । पहिलेका मेयरहरू, स्वतन्त्रहरू कुनै एउटा पार्टीसँग एलाइन भएर अरू पार्टीलाई गाली गर्ने सिस्टम थियो तर तपाईंले पहिलो पटक सबैलाई मिलाएर सहकार्य गर्ने काम गरिरहनुभएको छ त्यो सराहनीय छ त्यसैले हजुरलाई हाम्रो सधैँभरि साथ र सहयोग रहनेछ ।’























