मुख्य समाचार

प्रेस युनियनको राष्ट्रिय महाधिवेशन चाँडो सम्पन्न गर्न माग

नवलपुर टुडे
२०७९ जेष्ठ १४ | बिहान ०७:०२ बजे

काठमाडाैं, जेठ १३ । प्रजातन्त्रवादी पत्रकारहरुको साझा संस्था नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन चाँडो सम्पन्न गर्न माग गरिएको छ।

युनियनको ३१औँ स्थापना दिवसका अवसरमा महाधिवेशन सुनिश्चितताको लागि आज यहाँ आयोजना गरिएको विशेष भेलामा सरोकारवालाहरुले तीन वर्षमा सम्पन्न हुनुपर्ने महाधिवेशन आठ वर्ष नौ महिनासम्म हुन नसकेको भन्दै चाँडो सम्पन्न गर्न माग गरेका हुन्। कांग्रेस केन्द्रीय सदस्य एवं सांसद प्रकाश रसाइलीले विभिन्न सङ्घ संस्थालाई विधि विधानअनुसार चल्न नसकेको भनेर खबरदारी गर्ने पत्रकारको संस्थामै लामो समयसम्म निर्वाचन हुन नसक्नु दुःखद कुरा भएको बताए।

पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थालाई समयमै महाधिवेशन गराउनका लागि पार्टी नेतृत्व गम्भीर हुनुपर्ने उनको भनाइ थियो। नेपाल प्रेस युनियनका पूर्वमहासचिव एवं कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले चाँडो महाधिवेशन सम्पन्न गर्न वर्तमान नेतृत्वले तत्परता देखाउनुपर्ने बताए। ‘म महासचिव हुँदा पनि पनि चाँडो महाधिवेशन गरौँ भनेर नेतृत्वलाई निरन्तर खबरदारी गरेको थिएँ तर मेरो कुराको सुनुवाइ भएन,’ उनले भने। उनले आफू महासचिव हुँदा पत्रकार महासङ्घको जस्तो जिल्ला शाखा र केन्द्रको महाधिवेशन एकैपटक गरौँ भनेर आवाज उठाउँदै आएको स्मरण गरे। कांग्रेस केन्द्रीय सदस्य प्रतिमा गौतमले विधिअनुसार पार्टीको भ्रातृ एवं शुभेच्छुक संस्थाको अधिवेशन नहुँदा लोकतन्त्र कमजोर हुँदै गएको बताइन। उनले प्रेस युनियन मात्र नभई म्याद गुज्रिएका सबै भ्रातृ एवं शुभेच्छुक संस्थाको महाधिवेशन गरेर पार्टीलाई नयाँ गति दिनुपर्ने बताए।

नेपाल प्रेस युनियनका संस्थापक हरि अधिकारीले विभिन्न बहानामा प्रेस युनियनको महाधिवेशन बारम्बार रोक्न नमिल्ने बताए। युनियनका अर्का संस्थापक शोभाकर पराजुलीले युनियनलाई दुर्घटनामा जानबाट रोक्न नेतृत्व गम्भीर बन्नुपर्ने बताए । युनियनका पूर्वअध्यक्ष रमेश तूफान, कुलचन्द्र वाग्ले र किरण पोखरेलले लामो समयसम्म महाधिवेशन हुन नसकेर युनियनको गरिमा विस्तारै खस्कँदै गएको भन्दै चाँडो अधिवेशन गराउन वर्तमान नेतृत्व लाग्नुपर्ने बताए। नेपाल पत्रकार महासङ्घका पूर्वअध्यक्षद्वय डा सुरेश आचार्य र तारानाथ दाहालले प्रेस युनियनलाई विधिसम्मत ढङ्गले सञ्चालन गर्नुपर्ने बताए।

युनियनका सल्लाहकार कबिर राणा, शिव लम्सालले जेठभित्रै महाधिवेशन सम्पन्न गर्नका लागि नेतृत्व तयार हुनुपर्ने बताए । युनियनका उपमहासचिव सलोजा दाहाल, सचिव खिला कार्की, युनियन काठमाडौँ शाखाका पूर्वअध्यक्ष नकुल अर्याल, युनियन काठमाडौँका वर्तमान अध्यक्ष जगन्नाथ दुलाल, युनियनका नेता दामोदरप्रसाद दवाडी, रामजी दाहाललगायतले वैधानिक महाधिवेशन गर्नका लागि भेला आह्वान गरिएको भन्दै भेलाले दिएको म्याण्डेटअनुसार युनियनलाई अगाडि बढाइने बताए। विसं २०७१ भदौ २४ गते पोखरामा आठौँ महाधिवेशन सम्पन्न भए पनि त्यसपछि आठ वर्ष नौ महिनासम्म कुनै पनि महाधिवेशन हुन सकेको छैन।

शुक्रबारको विशेष भेलाले यही जेठ २८ र २९ गते नेपाल प्रेस युनियनको नवौँ राष्ट्रिय महाधिवेशन काठमाडौँमा गर्ने निर्णयसमेत गरेको छ।

कमेन्टहरु