राजनीति

प्रधानन्यायाधीशविरुद्धको महाअभियोग प्रस्तावको प्रतिवाद गर्ने एमालेको निर्णय

जगत ठाडा मगर
२०७८ फाल्गुन १ | मध्यान्ह ०८:११ बजे

काठमाडौं, फागुन १ । नेकपा (एमाले)ले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावलाई प्रतिवाद गर्ने भएको छ ।

आइतबार साँझ पार्टी अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको सचिवालय बैठकले सत्तारुढ गठबन्धन दलका सांसदले पेश गरेको महाअभियोग प्रस्तावलाई न्यायपालिका र लोकतन्त्रविरद्धको षडयन्त्रपूर्ण कदम भएको निष्कर्ष निकाल्दै प्रतिवाद गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए ।

बैठकपछि उनले भने “यो कदम अदालतमाथिको प्रहार मात्र होइन । सिंगो लोकतन्त्रमाथिको प्रहार हो । हामीले यसलाई अत्यैन्तै गम्भीर र षड्यन्त्रपूर्ण कदमका रूपमा लिएका छौँ । यो स्थानीय तहको चुनाव सार्न आएको पनि हुन सक्छ भन्ने हामीले अनुमान गरेछौँ,”

महासचिव पोखरेलका अनुसार सत्तारूढ गठबन्धनले सर्वोच्च अदालतमा विचाराधीन कतिपय मुद्दालाई प्रभावित गर्नेगरी पछिल्लो कदम चालेको एमालेको ठहर छ । उनले सोमबार बस्ने संसदीय दलको बैठकले महाअभियोगको प्रतिवाद गर्नका लागि आवश्यक निर्णय लिने जानकारी दिए ।

कमेन्टहरु