जलविद्युत् कम्पनीको सामाजिक उत्तरदायित्वमा जोड

नवलपुर टुडे

सारांश
- कास्कीको मादी गाउँपालिकाले सञ्चालनमा रहेका सबै जलविद्युत् कम्पनीहरूलाई अनिवार्य रूपमा पालिकामा सूचीकृत हुन आह्वान गरेको छ।
- स्थानीय प्राकृतिक स्रोतको उपयोग गर्ने आयोजनाबाट स्थानीय बासिन्दाले पाउनुपर्ने लाभ, सामाजिक उत्तरदायित्व र पूर्वाधार विकासमा योगदानको सुनिश्चितता गर्न यो पहल थालिएको हो।
- यो प्रक्रिया लगानीको वातावरण बिगार्न नभई जलविद्युत् आयोजना र स्थानीय समुदायबिच न्यायोचित सन्तुलन कायम गर्न लक्षित रहेको छ।

कास्की । कास्कीको मादी गाउँपालिकाले गाउँपालिकाभित्र सञ्चालनमा रहेका जलविद्युत् आयोजनालाई दायरामा ल्याउन पहल सुरु गरेको छ । गाउँपालिकाले सबै जलविद्युत् कम्पनीलाई पालिकामा सूचीकृत गर्ने तयारी गरेको हो ।
गाउँपालिकाले नेपाल सरकारको कम्पनी कानुनबमोजिम दर्ता भई सञ्चालनमा रहेका तर गाउँपालिकाको कार्यालयमा सूचीकृत नभएका जलविद्युत् कम्पनीलाई आवश्यक कागजातसहित पालिकामा सूचीकृत हुनका लागि आह्वान गरेको छ ।
गाउँपालिका अध्यक्ष देवीजङ्ग गुरुङले गाउँ कार्यपालिकाको यही कात्तिक १८ गतेको निर्णयअनुसार सबै जलविद्युत् कम्पनीलाई नियमानुसार सूचीकृत हुन सूचना जारी गरिएको बताए । “मादी गाउँपालिका जलविद्युत् उत्पादनको महत्त्वपूर्ण क्षेत्र हो । गाउँपालिकाभित्र करिब १० वटा जलविद्युत् आयोजना सञ्चालनमा रहेका छन् । थप आयोजनाले उत्पादन अनुमति लिएका तथा केही प्रस्तावित अवस्थामा छन् । तर प्रवर्द्धक कम्पनी पालिकामा सूचीकृत नभएकाले यो पहल सुरु गरेका हौँ”, अध्यक्ष गुरुङले भने ।
मादीको प्राकृतिक जलस्रोत उपयोग गरेर विद्युत् उत्पादन भइरहे पनि त्यसबाट स्थानीय बासिन्दाले पाउनुपर्ने लाभ, आयोजनाको सामाजिक उत्तरदायित्व र स्थानीय पूर्वाधार विकासमा कम्पनीले गर्नुपर्ने योगदानबारे पटकपटक प्रश्न उठ्दै आएपछि पालिकाले सूचीकरणको प्रक्रिया अघि बढाएको जनाएको छ ।
जलविद्युत् आयोजना निर्माण तथा सञ्चालनका क्रममा स्थानीय सडक, खानेपानी, खेतीयोग्य जमिन, वनजङ्गल, वातावरण र जनजीवनमा परेको प्रभावको उचित सम्बोधन हुनुपर्ने विषय स्थानीय र जनप्रतिनिधिले उठाउँदै आएका छन् ।
जलविद्युत् आयोजनाले स्थानीय क्षेत्रमा पारेको प्रभावसहित स्थानीय युवालाई रोजगारी तथा अवसर उपलब्ध गराउनुपर्ने र स्थानीय पूर्वाधारको संरक्षण तथा विकासमा कम्पनीको जिम्मेवारी स्पष्ट हुनुपर्ने मादी–४ का वडाध्यक्ष शिवप्रसाद सापकोटा बताउँछन् ।
उनले जलविद्युत कम्पनीको सामाजिक उत्तरदायित्व, स्थानीयसँग भएका सम्झौता, वातावरणीय प्रभाव, रोजगारी र पूर्वाधार विकासमा पुर्याएको योगदानको पारदर्शी समीक्षा हुनुपर्नेमा जोड दिए । “जलविद्युत कम्पनीलाई सूचीकृत गर्ने कार्य लगानीको वातावरण बिगार्न नभई लगानी र स्थानीय जनताको कानुनी अधिकारबिच न्यायोचित सन्तुलन कायम गर्नका लागि हो । मादीको प्राकृतिक स्रोतबाट हुने आम्दानी र त्यसको उपयोगबाट स्थानीय समुदायले न्यायोचित लाभ पाउनुपर्नेमा हाम्रो मुख्य जोड छ”, वडाध्यक्ष सापकोटाले भने ।
गाउँपालिका जलविद्युत् उत्पादनको प्रचुर सम्भावना भएको क्षेत्र भएकाले व्यवस्थित ऊर्जा विकासका लागि गाउँपालिका, जलविद्युत् कम्पनी र स्थानीय समुदायबिच समन्वय तथा सहकार्य आवश्यक रहेकामा जोड दिइएको छ ।

भक्तपुरमा मौलिक वेशभूषासहितको सांस्कृतिक भिन्तुना -याली

कपिलवस्तुमा बसको ठक्करबाट ७७ वर्षीय पुरुषको मृत्यु

युक्रेन युद्धपछिको सुरक्षा संरचनामा प्रगति भएको छ : रुबियो

दिउँसो १ बजेसम्म घोप्टेभिरको पहिरो पन्छाएर सडक सञ्चालन गर्ने तयारी

राष्ट्रपति पौडेलद्वारा गाईपूजा
अरुपनि पढ्नुहोस
सबै

भोटेकोशीको कटानले रसुवाको हाकुबेँसी गाउँ जोखिममा, बस्ती सार्न माग

तरकारीको बेर्ना बिक्री गरेर मनग्य आम्दानी गर्दै राजकुमार

इरानसँग सम्झौताको सम्भावना नरहेको अमेरिकाको संकेत
















