उत्पादन बढेपछि फूलको मूल्य घट्यो

नवलपुर टुडे

सारांश
- सुनसरीमा यस वर्ष अनुकूल मौसम र बढेको स्थानीय उत्पादनका कारण तिहारमा फूलको आपूर्ति पर्याप्त भई बजार मूल्य घटेको छ।
- गत वर्षको तुलनामा फूलको मूल्य आधाभन्दा कम भएपछि किसानले लागत मूल्य उठाउन कठिन भएको छ भने व्यापारीहरू घाटामा परेका छन्।
- उपभोक्तालाई राहत मिले पनि अपेक्षित आम्दानी हुन नसक्दा किसान र व्यवसायीहरू मारमा परेका छन्।

सुनसरी । यस वर्ष तिहार केही ढिला परेको र मौसम अनुकूल हुँदा स्थानीय फूलको उत्पादन बढेको छ । आपूर्ति पर्याप्त भएपछि मूल्य घटेको छ । गत वर्षको तुलनामा मूल्य घट्दा किसानले लागत मूल्य पाउन कठिन भएको छ भने महँगोमा फूल खरिद गरेर बिक्री गर्न ल्याएका व्यापारी घाटामा परेका छन् ।
विगत तीन वर्षदेखि धरान कृषि उपज बजारमा फूलको व्यापार गर्दै आउनुभएका धरान–१५ का प्रदीपकुमार चौधरीले यस वर्ष फूलको मूल्य घट्दा घाटा बेहोर्नुपरेको बताए । उनले किसानबाट प्रतिमुठा रु ८० मा खरिद गरेको फूल अहिले बजारमा रु ५० मा बिक्री गर्नुपरेको बताए । गत वर्ष फूलको व्यापारबाट राम्रो आम्दानी भए पनि यस वर्ष अपेक्षित कारोबार हुन नसकेको उनको भनाइ छ ।
पहिलोपटक ऋण खोजेर फूलको व्यापार सुरु गर्नुभएका अर्का व्यापारी सिम यादवले पनि यस वर्ष मूल्य घटेका कारण पहिलोपटक नै व्यापारमा घाटा व्यहोर्नुपरेको बताए । “धनकुटाबाट राम्रो सयपत्री फूल खरिद गरेर बजारमा बिक्री गर्न ल्याएको थिएँ”, उनले भने, “प्रतिमुठा रु ७० देखि ८० मा खरिद गरेको फूल अहिले रु ४० देखि ५० मा बिक्री गर्नुपर्दा लगानीसमेत उठाउन कठिन भएको छ ।”
धरान उपमहानगरपालिका–१३ स्थित कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईले यस वर्ष फूलको उत्पादन बढेपछि बजारमा मूल्य घटेको बताए । उनका अनुसार गत वर्ष प्रतिमुठा रु १०० मा बिक्री भएको फूल यस वर्ष रु ४० देखि ५० मा बिक्री भइरहेको छ । त्यसैगरी गत वर्ष फूलको प्रतिमाला रु २०० देखि रु २५० सम्ममा बिक्री भएको फूलमाला यस वर्ष रु १०० मा सहजै पाउन सकिने अवस्था रहेको उनले बताए।
धरानमा तिहारका अवसरमा हरेक वर्ष करिब पाँच लाख माला बराबरको फूलको कारोबार हुने गरेको व्यवस्थापक भट्टराईले बताए । लक्ष्मीपूजा, कुकुरपूजा, घरको सजावट, ढोका तथा गेटमा लगाउन र पसल सजाउन फूलमालाको प्रयोग हुने गरेको छ ।
यस वर्ष स्थानीय उत्पादन पर्याप्त भएकाले उपभोक्तालाई राहत भए पनि किसान र व्यापारी भने मारमा परेको उनले बताए । धरान कृषि उपज बजारमा धनकुटा, उत्तरी पहाडी क्षेत्र, तेह्रथुम, मोरङ र झापालगायत जिल्लाबाट किसानले सिधै फूल ल्याएर बिक्री गर्ने गरेका छन् । तिहारको अवसरमा धरान कृषि उपज बजारबाट हरेक वर्ष करिब रु पाँच करोडभन्दा बढीको फूलको कारोबार हुने गरेको व्यवस्थापक भट्टराईले बताए ।
सुनसरी उद्योग वाणिज्य सङ्घका महासचिव प्रभाव खतिवडाले विदेशी फूलमा प्रतिबन्ध लगाइएका कारण स्वदेशी फूलको माग र आपूर्ति दुवै बढेको बताए । स्थानीय उत्पादनले बजार पाउँदा स्वदेशी किसानलाई प्रोत्साहन मिल्नुका साथै तिहारको व्यापारिक गतिविधि बढेको उनको भनाइ छ ।
तिहारका बेला फूलको कारोबारसँगै दिदीबहिनीले दाजुभाइलाई दिने उपहार सामग्री, काजु, किसमिस, सुन्तलालगायत फलफूल तथा विभिन्न खाद्य सामग्रीको बिक्री वितरण बढेको छ । यस्ता सामग्रीको किनबेचले बजारलाई थप चलायमान बनाएको उनले बताए । स्थानीय फूलको उत्पादन र कारोबार बढे पनि बजार मूल्य घट्दा यस वर्ष किसान तथा व्यापारीले अपेक्षित आम्दानी गर्न सकेका छैनन् ।

राष्ट्र बैंकद्वारा विदेशी मुद्राको विनिमयदर निर्धारण, कुन मुद्राको भाउ कति ?

दीपावलीमा केराका थाम बेचेर किसानलाई अतिरिक्त आम्दानी

आज पाँचवटा प्रदेशका केही स्थानमा वर्षाको सम्भावना

रोग र विषादीले मौरीपालन व्यवसाय सङ्कटमा

विद्यालयको शैक्षिक गुणस्तरभन्दा भौतिक निर्माणमा व्यवस्थापन समितिको ध्यान
अरुपनि पढ्नुहोस
सबै
तनहुँमा साढे २ लाखभन्दा बढी पशुपन्छीको बीमा, ६९ करोडको जोखिम सुरक्षण

डोल्पा कारागारबाट भागेका छ कैदीबन्दी पक्राउ

यमपञ्चकको चौथो दिन : आज गाईपूजा मनाइँदै

मुक्ति समाज भोट बैक मात्र बन्न नहुने बक्ताहरुको जोड
















