दीपावलीमा केराका थाम बेचेर किसानलाई अतिरिक्त आम्दानी

रासस

सारांश
- मिथिला क्षेत्रमा दीपावलीका अवसरमा घर र व्यापारिक प्रतिष्ठानमा स्वागतद्वार बनाउन केराका थामको माग अत्यधिक बढेपछि किसानले राम्रो अतिरिक्त आम्दानी गरेका छन्।
- सामान्य अवस्थामा उखेलेर फाल्नुपर्ने वा छाँटकाँट गर्नुपर्ने केराका अतिरिक्त बोट तथा थाम प्रतिजोडी ६०० रुपैयाँसम्ममा बिक्री भएको छ।
- व्यापारीहरू नै किसानको घर र केराघारीसम्म पुगेर खरिद गरेकाले किसानलाई बजारसम्म थाम पुर्याउने झन्झट नभई चाडपर्व खर्चको जोहो गर्न सहज भएको छ।

धनुषा । मिथिला क्षेत्रमा दीपावली पर्व केराखेती गर्ने किसानका लागि अतिरिक्त आम्दानीको अवसर बनेको छ । लक्ष्मीपूजाका दिन घरघरमा केराका थामबाट स्वागतद्वार बनाउने परम्पराका कारण यसको माग बढेपछि किसानले राम्रो आम्दानी गर्न थालेका छन् ।
स्थानीय किसानले केराका थाम ट्याक्टर तथा बयलगाडामा राखेर जनकपुरधामलगायतका बजारमा बिक्रीका लागि पुर्याएका थिए । धनुषा र महोत्तरीका गाउँबस्तीबाट केराका थाम खरिद गर्न व्यापारी किसानका घरघर तथा केराघारी पुग्न थालेका थिए ।
लक्ष्मीपूजाका लागि एक दिनअघिदेखि नै केराका थामको बिक्री भएको किसान बताउँछन् । जनकपुरधाममा शनिबार र आइतबार मात्रै करिब आठदेखि नौ हजार केराका थाम बिक्री भएको जनकपुरधाम उद्योग वाणिज्य सङ्घका अध्यक्ष सुरेन्द्र भण्डारीले जानकारी दिए ।
केराको झ्याङमा बोट धेरै गाँजिएपछि राम्रो उत्पादन लिन केही बोट हटाउनुपर्ने हुन्छ । सामान्य अवस्थामा उखेलेर फाल्नुपर्ने त्यस्ता बोट दीपावलीका बेला बिक्री हुँदा किसानलाई अतिरिक्त आम्दानी हुने गरेको छ ।
बर्दिबास नगरपालिका–९ पशुपतिनगरका केरा किसान ब्रह्मदेव महतोले केराको झ्याङमा गाँजिएका बोट हटाउनुपर्ने भए पनि दीपावलीमा बिक्री हुने भएकाले पर्व कुर्ने गरेको बताए । उनका अनुसार अन्य समयमा उखेलेर फाल्नुपर्ने बोट व्यवस्थापन गर्न खर्च लाग्ने भए पनि दीपावलीमा राम्रो मूल्यमा बिक्री हुने गरेको छ । उनले यस वर्ष एकै दिनमा १५ हजार रुपैयाँभन्दा बढी मूल्यका केराका थाम बिक्री गरेको जानकारी दिए ।
मिथिला परम्पराअनुसार लक्ष्मीपूजाका दिन घर तथा व्यापारिक प्रतिष्ठानमा केराका थामबाट स्वागतद्वार बनाउने चलन छ । स्वागतद्वारका मूल खाँबाका रूपमा केराका थाम प्रयोग गरिने भएकाले दीपावलीमा यसको माग बढ्ने गरेको हो । सामान्यतया दुईवटा थाम प्रयोग गरेर स्वागतद्वार बनाउने चलन रहे पनि कतिपयले चारवटा थाम प्रयोग गर्ने गरेका छन् ।
धनुषाको क्षीरेश्वरनाथ नगरपालिका–३ पकडियाका किसान रामनारायण सिंहका अनुसार यस वर्ष केराका थामका लागि एक साताअघिदेखि नै किसानले बैना लिन थालेका थिए । पर्वका दिन थामको अभाव हुनसक्ने र मूल्य बढ्नसक्ने भएकाले व्यापारीले केराघारीमै पुगेर मूल्य तय गरी खरिद गर्ने गरेका छन् ।
महोत्तरीको भङ्गाहा नगरपालिका–४ का व्यावसायिक केरा किसान सत्यनारायण यादवले यस वर्ष ३५ हजार रुपैयाँ बराबरका केराका थाम बिक्री गरेको बताए । करिब एक बिघा क्षेत्रफलमा केराखेती गर्दै आएका उनका अनुसार राम्रो उत्पादन लिन केराको एउटा झ्याङमा तीनभन्दा बढी बोट राख्नु उपयुक्त हुँदैन । त्यसैले अतिरिक्त बोट छाँट्नुपर्ने हुन्छ । दीपावलीका बेला त्यस्ता बोट बिक्री हुने भएकाले किसानले यस पर्वलाई आम्दानीको अवसरका रूपमा लिने गरेका छन् ।
धनुषाको जनकपुरधाम, महेन्द्रनगर, ढल्केवर, सबैला, गोदार र वीरेन्द्रबजार तथा महोत्तरीको बर्दिबास, औरही, सीतापुर, मटिहानी, रामगोपालपुर, सम्सी, गौशाला, पिपरा, बलवा र जलेश्वरलगायतका बजारमा केराका थामको कारोबार भएको थियो । व्यापारिक प्रतिष्ठानका सञ्चालक तथा अन्य उपभोक्ता थाम खरिद गर्न गाउँबस्ती पुग्न थालेपछि किसानलाई घरमै बिक्री गर्ने सुविधा मिलेको छ ।
महोत्तरीको भङ्गाहा नगरपालिका–७ हतिसर्वाको झपौल बस्तीका किसान रामचन्द्र महराले चाडपर्वका बेला खर्चको जोहो गर्न केराका थामको बिक्रीले सहयोग पुगेको बताए । बजारसम्म थाम पुर्याउनुपर्ने झन्झट नभई व्यापारी घरमै आएर खरिद गर्दा पर्व मनाउन सहज भएको उनको भनाइ छ ।
किसानका अनुसार दीपावलीका बेला एक जोडी केराका थाम ६०० रुपैयाँसम्ममा बिक्री हुने गरेको छ । बलवा नगरपालिकाको भगवतीपुरका किसान ललन महतोले १० कट्ठामा लगाएको केराखेतीबाट नयाँ कोथा बिक्री गरी १५ हजार रुपैयाँ आम्दानी गरेको बताए ।
दीपावलीसँगै छठपर्वमा केराको घरी र कोथाको माग बढ्ने गरेको छ । छठ पर्वमा केराको घरी प्रसादका रूपमा चढाउने धार्मिक परम्परा रहेकाले यसको बिक्री बढ्ने किसान बताउँछन् । नियमित बजारमा बिक्री नहुने केराका अतिरिक्त बोट र कोथा चाडपर्वका बेला राम्रो मूल्यमा बिक्री हुँदा किसानका लागि अतिरिक्त आम्दानीको स्रोत बनेको छ ।
धार्मिक तथा सांस्कृतिक परम्परासँग जोडिएको केराको प्रयोगले मिथिलाञ्चलमा चाडपर्वको रौनक बढाउनुका साथै स्थानीय किसानको आयआर्जनमा समेत योगदान पुर्याउँदै आएको छ ।

इरानसँगको कूटनीतिक वार्तामा थोरै प्रगति भएको रुबियोको भनाइ

दीपावलीमा पनि सेवामा खटिए कृष्णनगरका विद्युत् कर्मचारी, नागरिकको घर उज्यालो बनाउन दिनरात सक्रिय

दुई हजारभन्दा बढी स्मारक, आठ हजार पुरातात्विक वस्तुको अभिलेखीकरण

रैथाने उत्पादनको बजार विस्तार तथा प्रवर्द्धन गर्न आवश्यक : सभामुख अर्याल

गरिब तथा असहाय बालबालिकालाई लक्षित गर्दै रोहिणीमा बालबगैँचा कार्यक्रम सुरु
अरुपनि पढ्नुहोस
सबै
जलविद्युत् कम्पनीको सामाजिक उत्तरदायित्वमा जोड

भक्तपुरमा मौलिक वेशभूषासहितको सांस्कृतिक भिन्तुना -याली

कपिलवस्तुमा बसको ठक्करबाट ७७ वर्षीय पुरुषको मृत्यु

युक्रेन युद्धपछिको सुरक्षा संरचनामा प्रगति भएको छ : रुबियो
















