बाढीपहिरोले म्याग्दीमा १११ घर पूर्ण रुपमा क्षतिग्रस्त, अर्बौँको पूर्वाधार नष्ट

नवलपुर टुडे

सारांश
- म्याग्दीमा अविरल वर्षापछिको बाढीपहिरोका कारण ७ जनाको मृत्यु, २ बेपत्ता हुनुका साथै १११ घर पूर्ण र ९३ घरमा आंशिक क्षति पुगेको छ।
- बाढीपहिरोले सडक, खानेपानी, विद्युत् र सञ्चारलगायतका पूर्वाधारहरूमा अर्बौं रुपैयाँभन्दा बढीको क्षति पुर्याएको छ।
- विस्थापित परिवारलाई अस्थायी रूपमा आश्रय दिइएको छ भने अवरुद्ध सडक, सञ्चार तथा विद्युत् सेवा सञ्चालन र राहत वितरणको काम तीव्र पारिएको छ।
म्याग्दी । अविरल वर्षापछि आएको बाढीपहिरोले म्याग्दीमा पुर्याएको क्षतिको प्रारम्भिक विवरण मङ्गलबार सार्वजनिक गरिएको छ ।
जिल्ला प्रशासन कार्यालयले सात जनाको मृत्यु र दुई बेपत्ता भएको विपद्का कारण सडक, खानेपानी, नदी नियन्त्रण, विद्युत्, सञ्चार, सिँचाइ पूर्वाधार र निजी सम्पत्तिमा अर्बौंको क्षति भएको विवरण सार्वजनिक गरेको हो ।
प्रमुख जिल्ला अधिकारी गणेश गैरेले सुरक्षा निकायका प्रमुखको उपस्थितिमा आयोजित पत्रकार सम्मेलनमा विपद्पछिको क्षतिको प्रारम्भिक विवरण सार्वजनिक गरे । “जिल्लाभर १११ घर पूर्ण रुपमा क्षति भएको छ,” उनले भने, “९३ घरमा आंशिक क्षति पुगेको छ भने ३४२ घर पहिरोको उच्च जोखिममा परेको छ ।”
प्रारम्भिक विवरणअनुसार बेनी–जोमसोम सडकखण्डमा मात्रै करिब रु ८० देखि ९० करोड बराबरको क्षति भएको छ । बेनी–दरबाङ सडकखण्डमा करिब रु आठ करोडको क्षति पुगेको छ । सदरमुकाम बेनीमा वितरण हुने खानेपानीका संरचनामा रु आठदेखि १० करोड बराबरको क्षति भएको छ ।
यस्तै, विद्युत् संरचनामा करिब रु दुई करोड ५० लाखको क्षति पुगेको प्रशासनले जनाएको छ ।
प्रहरी नायब उपरीक्षक राजन कार्कीले पूर्वसतर्कता र सावधानीले मानवीय क्षति न्यूनीकरण भएको बताउँदै भौतिक क्षति भने अकल्पनीय रहेको बताए । विपद्पछि खोज, उद्धार र राहतमा तीनै तहका सरकार, सुरक्षा निकाय, जनप्रतिनिधि र सङ्घसंस्था परिचालन भएका छन् ।
बाढीपहिरोका कारण नेपाल टेलिकमको अप्टिकल फाइबरमा क्षति पुगेको तथा तीनवटा टावरमा इन्धन अभाव भएपछि सञ्चार सेवा प्रभावित भएको छ । विद्युत् सेवा अवरुद्ध हुँदा शिख, पुनहिल, पोखरेबगर, घोरेपानी, बेगखोलालगायत ग्रामीण क्षेत्र अझै अन्धकारमा रहेको छ ।
खोजी, उद्धारको चरणपछि राहत वितरण, विस्थापितको व्यवस्थापन, क्षतिको विवरण सङ्कलन कार्यलाई पूर्णता, अवरुद्ध सडक, विद्युत, सञ्चार र खानेपानी पुनः सञ्चालन गराउन केन्द्रित भएको प्रजिअ गैरेले बताए ।
सडक सम्पर्कविच्छेद भएका अन्नपूर्ण गाउँपालिकाका विभिन्न क्षेत्रमा हेलिकप्टरमार्फत ३०० भन्दा बढी घरपरिवारलाई राहत सामग्री पुर्याइएको छ । विपद्का कारण जोखिममा परेका दुई गर्भवती तथा दुई जना गम्भीर बिरामीलाई हेलिकप्टरमार्फत उद्धार गरी तत्काल अस्पताल पुर्याइएको उनले जानकारी दिए ।
बाढीपहिरोबाट विस्थापित परिवारलाई हाल स्थानीय विद्यालय, सामुदायिक भवन तथा आफन्तको घरमा राखिएको छ । पूर्णरुपमा घर क्षति भएका परिवारका लागि तत्काल अस्थायी आवासका रुपमा बलिया टेन्टको व्यवस्था गरिएको प्रमुख जिल्ला अधिकारी गैरेले बताए ।
बाढीपहिरोबाट क्षतिग्रस्त सडक तथा अन्य पूर्वाधार मर्मतको काम तीव्र पारिएको छ । हाल बेनी–दरबाङ–मुना र बेनी–जोमसोम सडकको बैसरीसम्म सञ्चालनमा आएको छ । बाढीपहिरो प्रभावित क्षेत्रको जोखिम अध्ययनका लागि बेनी नगरपालिका र रघुगङ्गा गाउँपालिकामा भौगर्भिक टोलीले अध्ययन सम्पन्न गरिसकेको छ । अन्नपूर्ण, मालिका, मङ्गला र धवलागिरि गाउँपालिकाका जोखिमयुक्त क्षेत्रमा थप भौगर्भिक अध्ययनका लागि पहल भइरहेको प्रशासनले जनाएको छ ।
विपद्बाट विस्थापित परिवारको दीर्घकालीन पुनःस्थापना, क्षतिग्रस्त पूर्वाधारको पुनर्निर्माण तथा प्रभावितको जीवनलाई पुरानै अवस्थामा फर्काउन केन्द्रित हुने प्रजिअ गैरेले बताए ।

नेता गौतमको निधनप्रति अध्यक्ष ओलीको श्रद्धाञ्जली

लाङटाङ र गोसाईकुण्ड पदयात्राका लागि खुला

ज्ञानेन्द्र शाहीको व्यङ्ग्य: ‘प्रचण्डज्यू, दसैँपछिको त्यो आँधी–तुफान कहाँ पुग्यो?’

केन्द्रीय कारागारबाट फरार एकजना कैदीबन्दी पक्राउ

दसैँको टीकाको तेस्रो दिन : मान्यजनबाट टीका र आशीर्वाद ग्रहण गर्ने क्रम जारी
अरुपनि पढ्नुहोस
सबै
नेपाललाई तीन अर्ब अनुदान दिने हानिनोक्सानी कोषको निर्णय

रास्वपा सभापति लामिछाने ३ दिने भ्रमणका लागि आज भारत जाँदै

प्राकृतिक स्रोतको उपयोगबाट करोडौँ आम्दानी

मनास्लु लार्केपास पदयात्रा खुला, सतर्कता अपनाएर यात्रा गर्न टानको आग्रह
















