नवलपरासीमा स्रोत नखुलेको रकमसहित दुईजना पक्राउ


परासी । पश्चिम नवलपरासीमा स्रोत नखुलेको रकमसहित दुई जनालाई प्रहरीले पक्राउ गरेका छन । पक्राउ पर्नेमा प्रतापपुर गाउँपालिका- ६ गुठिप्रसौनी बस्ने बर्ष २५ को अंकित गुप्ता र सोही स्थान बस्ने बर्ष २० को अभिनन्दन गुप्ता रहेका छन ।
उनीहरुलाई शंका लागि चेकजाँच गर्नेक्रममा युपि ५६ बिएच ६५५६ भारतीय नम्बरको मोटरसाइकलमा लुकाई छिपाई ल्याएको स्रोत नखुलेको नेपाली रकम रु. २१,६०,०००/-(एक्काईस लाख साठी हजार) नगदसहित मोटरसाइकल र दुबै जनालाई नियन्त्रणमा लिईएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरीक्षक मदन थापाले नवलपुर टुडेलाई जानकारी दिएको छ ।
उनीहरुलाई लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङ र जिल्ला प्रहरी कार्यालय नवलपरासीबाट खटिएको संयुक्त प्रहरी टोलीले प्रतापपुर गाउँपालिका- ९ बेलाटारीबाट पक्राउ गरेका हुन । पक्राउ पर्ने दुबै जनालाई ईलाका प्रहरी कार्यालय बेलाटारीको हिरासतमा राखी थप अनुसन्धान भईरहेको थापाले बताए ।























