अबका ‘दुई दिन धान नकाट्नू, ट्रेकिङ नगर्नू, जहाँ हुनुहुन्छ सुरक्षित बस्नू’

नवलपुर टुडे

सारांश
- राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आगामी दुई दिनसम्म धानलगायत पाकेको अन्न नकट्न र ट्रेकिङ तथा पर्वतारोहण नगर्न विशेष अपिल गरेको छ।
- शुक्रवार र शनिवार देशका विभिन्न स्थानमा हावाहुरी, चट्याङ, हिमआँधीसहित भारी वर्षाको सम्भावना रहेको मौसमविद्हरूले बताएका छन्।
- चक्रवात ‘अर्नव’ को प्रभावका कारण आगामी केही दिनसम्म वर्षा र हिमपात हुने तथा आइतवारदेखि मात्र मौसममा सुधार आउने अनुमान गरिएको छ।

काठमाडौँ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले अबका दुई दिन धानलगायत पाकेको अन्नपात नकाट्न, ट्रेकिङ नगर्न र पर्वतारोहीलाई जुन स्थानमा पुगेका छन्, सोही स्थानमा सुरक्षित बसी सावधानी अपनाउन अपिल गरेको छ । प्राधिकरणले हिजो बिहीवार जरुरी सूचना जारी गर्दै शुक्रवार र शनिवार हावाहुरी, चट्याङ, हिमआँधीसहित ठूलो पानी पर्ने सम्भावना रहेको भन्दै यस्तो अपिल गरेको हो ।
प्राधिकरणले यो अवधिमा देशभरका हिमाली र उच्च पहाडी भेगमा पर्वतारोहण तथा पदयात्रा नगर्न अपिल गर्दै भनेको छ– ‘कात्तिक १३ र १४ गते हावाहुरी, चट्याङ, हिउँआँधीसहित ठूलो पानी पर्ने सम्भावना छ । त्यसैले देशभरका हिमाली र उच्च पहाडी भेगमा पर्वतारोहण तथा पदयात्रा नगर्नुहोला । ट्रेकिङमा जानुभएको छ भने सुरक्षित ठाउँमा बस्नुहोला । साथै, यो तीन दिन धान नकाट्नु हुन अनुरोध छ ।’
प्राधिकरणका अनुसार हिजो बिहीवार साँझ उपत्यकालगायत देशका विभिन्न जिल्लामा हल्का वर्षा सुरु भएको छ । शुक्रवार र शनिवार दिउँसोसम्म काठमाडौँमा भारीवर्षाको सम्भावना रहेको भन्दै मौसमविद्हरुले उक्त दिन अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन आग्रह गरेको छ ।
जल तथा मौसम विज्ञान विभागले शुक्रवार र शनिवार कर्णाली र सुदूरपश्चिम बाहेक बागमती, गण्डकी, कोशी, मधेस र लुम्बिनी प्रदेशको उच्च हिमाली र पहाडीक्षेत्रमा वर्षाकोे र बागमती प्रदेशको एक दुई स्थानमा अतिभारीसम्मको वर्षाको सम्भावना रहेको जनाएको छ ।
वर्षासँगै ठुलो हुरीबतासको पनि सम्भावना रहेको मौसमविद् प्राडा दीपक अर्यालले बताउनुभयो । उहाँका अनुसार उच्च पहाडीक्षेत्र र हिमालीक्षेत्रमा हिमआँधीको सम्भावना रहेको छ ।
विभागले धेरै शक्तिशाली चक्रवात ‘अर्नव’ अहिले बलियो न्युनचापीय क्षेत्रको रूपमा विकसित भइसकेको र नेपालमा प्रवेश गर्दा अझै कमजोर हुने हुनाले सोको प्रभावले नेपालमा वर्षा र हिमपात तथा हावाहुरीको सम्भावना रहे तापनि चक्रवात ‘अर्नव’ शक्तिशाली हुँदा जस्तो नेपालमा हावाहुरीको सम्भावना नदेखिएको जनाएको छ ।
विभागले बिहीवार साँझ जारी गरेको बुलेटिनमा आज दिउँसो देशभर विभिन्न स्थानमा वर्षा हुनेछ । कोशी,मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका अधिकांश स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको धेरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको थोरै स्थानमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा भारीवर्षा र हिमपात सम्भावना रहेको जनाएको छ । आज राती देशका अधिकांश स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा धेरै भारीवर्षा र हिमपातको पनि सम्भावना रहेको जनाएको छ ।
शनिवार दिउँसो कोशी, मधेस,बागमती,गण्डकी,लुम्बिनी र कर्णाली प्रदेशमा अधिकांश बादल लाग्ने र सुदूरपश्चिम प्रदेशमा साधारणतया बादल लाग्ने बताइएको छ । कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थान, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ ।
कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशको केही स्थान तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा भारीवर्षा र हिमपात सम्भावना रहेको छ । कोशी, मधेस, बागमती र गण्डकी प्रदेशको एक–दुई स्थानमा धेरै भारीवर्षा र हिमपातको पनि सम्भावना रहेको छ ।
भोलि शनिवार राती देशभर साधारणतया बादल लाग्नेछ । देशको पहाडी र हिमाली भूभागका थोरै स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षा र हिमपातको सम्भावना छ । देशको तराई भू–भागका एक–दुई स्थानमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । आइतवारदेखि मौसमसुधार हुँदै जाने मौसमविद् प्राडा अर्यालको भनाइ छ।
मौसम विभागले जारी गरेको बुलेटिनअनुसार आइतवार देशभर आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भू–भागका एक–दुई स्थानमा हल्कासम्मको वर्षा र हिमपातको सम्भावना छ । तराई भूभाग, उपत्यका तथा खाँेचहरूमा बिहानीपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।
सोमवार देशभर आंशिक बादल लाग्नेछ । देशका हिमाली र पहाडी भूभागका एक–दुई स्थानमा हल्कासम्मको वर्षा र हिमपातको सम्भावना छ । तराई भूभाग, उपत्यका तथा खोँचहरूमा बिहानीपख केही स्थानमा हुस्सु र कुहिरो लाग्नेछ ।

काठमाडौँ महानगरले तोकेको स्थानमा मात्र फूल बेच्न पाइने

वायु प्रदूषण जोखिम कम गर्न कामपाको आग्रह

जग्गाको धनीपुर्जा माग्दै झापामा ६० हजार परिवारको आवेदन

हङकङका लोकतन्त्रवादी अभियन्ता जोसुवा वङलाई १० वर्षको जेल सजाय

‘पैसा डबल’ गर्ने भन्दै ठगी गर्ने रजक पुनः पक्राउ
अरुपनि पढ्नुहोस
सबै
रौतहटको डुमरियामा दुई यात्रुबाहक बसबाट भन्सार छलीका सामान बरामद, मूल्य २ लाख २२ हजारभन्दा बढी

वायु प्रदूषण जोखिम कम गर्न काठमाडौँ महानगरको आग्रह

दाङमा दैनिक दुई हजार ५०० कार्टुन अण्डा उत्पादन

राहुघाटको सुरुङ प्रभावितलाई क्षतिपूर्ति वितरणको प्रक्रिया थालियो
















