कृषि

फलफुलको उत्पादन बढाउन किसानलाई अनुदान

रासस
२०८३ साउन २७ | मध्यान्ह ०४:०४ बजे

तनहुँ । कृषि विकास कार्यालय, तनहुँले सुन्तलाको उत्पादन वृद्धि गर्न कृषकलाई आवश्यक सामग्रीमा अनुदान उपलब्ध गराएको छ।

आर्थिक वर्ष २०८२/८३ मा सुन्तला बगैँचा स्थापना तथा विस्तार कार्यक्रमअन्तर्गत पाँच हेक्टर क्षेत्रफलका लागि रु पाँच लाख ६९ हजार अनुदान उपलब्ध गराएको हो। कार्यालय प्रमुख परशुराम अधिकारीले उक्त वर्षमा अनुदानका लागि रु सात लाख ५० हजार बजेट विनियोजन भएको थियो।

अनुदान कार्यक्रममार्फत ६ सय ३९ रोपनी क्षेत्रफलमा नयाँ सुन्तलाको बगैँचा विस्तार हुने भएको छ। उक्त कार्यक्रमबाट सात वटा सहकारी तथा समूहमा आबद्ध एक सय २९ जना कृषक लाभान्वित भएको अधिकारीले जानकारी दिए।

नयाँ बगैँचामा लगाइएका सुन्तलाका बिरुवाले उत्पादन दिन थालेपछि आगामी चार वर्षपछिबाट वार्षिक करिब दुई सय मेट्रिक टन फलफूल उत्पादन हुने अनुमान गरिएको छ। नयाँ बगैँचा विस्तारसँगै जिल्लामा सुन्तलाको उत्पादन क्षेत्र बढ्ने र कृषकको आयआर्जनमा समेत योगदान पुग्ने अपेक्षा गरिएको छ।

यस्तै कार्यालयले सुन्तला बगैँचा सुदृढीकरण कार्यक्रम सञ्चालन गरेको छ। उक्त कार्यक्रमका लागि ५० हेक्टर क्षेत्रफलमा रु ३० लाख बजेट विनियोजन गरिएकामा रु २८ लाख ९९ हजार खर्च भएको छ।

बगैँचा सुदृढीकरण कार्यक्रमअन्तर्गत जिल्लाका विभिन्न स्थानमा यसअघि नै स्थापना गरिएका एक हजार सात सय ७७ रोपनी क्षेत्रफलका सुन्तला बगैँचालाई थप व्यवस्थित र उत्पादनमुखी बनाउन आवश्यक सामग्रीमा अनुदान प्रदान गरिएको अधिकारीले बताए।

कमेन्टहरु