समाज

बीरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यमा रौतहटमा निःशुल्क मोतियाबिन्दु शल्यक्रिया अभियान

नवलपुर टुडे
२०८३ साउन ९ | मध्यान्ह १२:०४ बजे

साउन ९ गते , रौतहट। रौतहट जिल्लाको वृन्दावन नगरपालिका वडा नं २ विश्रामपुर स्थित नेपाल युवा क्लब (पुस्तकालय) परिसरमा आयोजित निःशुल्क मोतियाबिन्दु शल्यक्रिया शिविर आज भव्य रूपमा सम्पन्न भएको छ। ग्रामीण क्षेत्रका आर्थिक रूपमा विपन्न तथा मोतियाबिन्दुबाट पीडित नागरिकलाई सहज रूपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले सञ्चालन गरिएको उक्त शिविरप्रति स्थानीय नागरिकको उल्लेखनीय सहभागिता रहेको थियो।

नेपाल नेत्रज्योति संघ, गौर आँखा अस्पताल तथा नेपाल ब्रह्मर्षि समाज जिल्ला कार्य समिति रौतहटको संयुक्त आयोजनामा सम्पन्न शिविरको उद्घाटन मधेश प्रदेश सरकारका पूर्व मन्त्री तथा सर्लाही निर्वाचन क्षेत्र नं. ४ (क) का प्रदेश सभा सदस्य माननीय बीरेन्द्र प्रसाद सिंहको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै माननीय सिंहले स्वास्थ्य सेवा प्रत्येक नागरिकको आधारभूत अधिकार भएको उल्लेख गर्दै आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नहुने धारणा व्यक्त गर्नुभयो। उहाँले यस्ता मानवीय तथा सेवामूलक कार्यक्रमले समाजमा सकारात्मक परिवर्तन ल्याउने विश्वास व्यक्त गर्दै स्वास्थ्य क्षेत्रमा निरन्तर सहकार्य र सहयोग आवश्यक रहेको बताउनुभयो।

सोही अवसरमा माननीय सिंहले वृक्षारोपण कार्यक्रमसमेत गरी वातावरण संरक्षण, हरियाली प्रवर्द्धन तथा स्वच्छ वातावरण निर्माणप्रति सबैलाई जिम्मेवार बन्न आग्रह गर्नुभयो। उहाँले स्वास्थ्य र वातावरण एकअर्कासँग प्रत्यक्ष रूपमा जोडिएको विषय भएकाले दुवै क्षेत्रलाई समान प्राथमिकता दिनुपर्नेमा जोड दिनुभयो।

शिविरमा मोतियाबिन्दुका बिरामीहरूको विशेषज्ञ चिकित्सकद्वारा स्वास्थ्य परीक्षण गरी आवश्यक परेका बिरामीलाई निःशुल्क शल्यक्रिया सेवा उपलब्ध गराइएको आयोजकले जनाएको छ। यस अभियानले आर्थिक रूपमा कमजोर तथा उपचारको पहुँचबाट टाढा रहेका नागरिकलाई ठूलो राहत पुगेको स्थानीयवासीले बताएका छन्।

कार्यक्रममा विभिन्न सामाजिक व्यक्तित्व, स्थानीय जनप्रतिनिधि, समाजसेवी, चिकित्सक, स्वास्थ्यकर्मी तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो। सहभागीहरूले यस्ता स्वास्थ्य शिविरलाई निरन्तर सञ्चालन गर्न सम्बन्धित निकायसँग आग्रहसमेत गरेका छन्।

नेपाली कांग्रेस मधेश प्रदेश सूचना तथा सञ्चार विभागका सचिव तथा माननीय बीरेन्द्र प्रसाद सिंहका स्वकीय सचिव निकेश त्रिपाठीका अनुसार, जनस्वास्थ्यलाई केन्द्रमा राखेर ग्रामीण क्षेत्रमा निःशुल्क स्वास्थ्य सेवा विस्तार गर्ने उद्देश्यका साथ यस्ता कार्यक्रमलाई आगामी दिनमा अझ प्रभावकारी रूपमा निरन्तरता दिइनेछ। उहाँले राज्य, सामाजिक संस्था र स्वास्थ्य क्षेत्रबीचको सहकार्यबाट मात्रै गुणस्तरीय स्वास्थ्य सेवा आमनागरिकसम्म पुर्‍याउन सकिने विश्वास व्यक्त गर्नुभयो।

कमेन्टहरु