रौतहटमा उखु किसानलाई अनुदान वितरण प्रक्रिया अघि बढाइँदै


रौतहट, असार ३२ । रौतहटमा उखु किसानलाई अनुदान वितरण गर्ने प्रक्रिया अघि बढाइएको छ। जिल्ला प्रशासन कार्यालय रौतहटमा सहायक प्रमुख जिल्ला अधिकारी नितेन्द्र कुमार यादवको संयोजकत्वमा बसेको भुक्तानी समितिको बैठकले अनुदान वितरणलाई व्यवस्थित र पारदर्शी बनाउने निर्णय गरेको हो।
बैठकमा कोष तथा लेखा नियन्त्रक कार्यालय, कृषि ज्ञान केन्द्र, राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय, जिल्ला प्रहरी कार्यालय, उखु उत्पादक संघ तथा सम्बन्धित उद्योगका प्रतिनिधिहरूको सहभागिता रहेको थियो।
बैठकले उखु कृषकलाई अनुदान दिने सम्बन्धी कार्यविधि (संशोधन), २०७५ बमोजिम स्थानीय तहबाट किसानको विवरण संकलन गरी सात दिनभित्र भुक्तानी समितिमा पेश गर्ने निर्णय गरेको छ। प्राप्त विवरण कृषि, वन तथा वातावरण मन्त्रालयमा पठाई अनुदान रकम निकासा भएपछि आवश्यक कागजातको आधारमा नियमानुसार भुक्तानी गरिने निर्णय गरिएको छ।
त्यसैगरी, किसानको विवरण संकलन गर्ने कार्यमा सबै स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत तथा कृषि शाखाका कर्मचारीहरूले आवश्यक समन्वय र सहजीकरण गर्नुपर्ने निर्णय पनि बैठकले गरेको छ।
बैठकले किसानको वास्तविक विवरण संकलन, कागजात प्रमाणीकरण तथा अनुदान वितरण प्रक्रियालाई समयमै सम्पन्न गर्न सम्बन्धित सबै निकायलाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेको जनाएको छ।






















