देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न, सुदूरपश्चिम अगाडि

रासस
२०८३ असार ३२ | मध्यान्ह ०५:०३ बजे

काठमाडौं , असार ३२। चालु आर्थिक वर्ष २०८३ अन्तर्गत असार ३२ गतेसम्म देशभर धान रोपाइँ ६१.६२ प्रतिशत सम्पन्न भएको छ ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार कुल १३ लाख ६६ हजार ५६२ हेक्टर रोपाइँयोग्य क्षेत्रफलमध्ये ८ लाख ४२ हजार ६८ हेक्टरमा धान रोपाइँ सम्पन्न भएको हो ।
गत वर्षको सोही अवधिमा देशभर ७२.१४ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । यस वर्ष भने राष्ट्रिय रूपमा रोपाइँको प्रगति गत वर्षको तुलनामा कम देखिएको छ । यद्यपि, मधेश प्रदेशमा भने गत वर्षको ४६.८३ प्रतिशतको तुलनामा यस वर्ष ५७.९ प्रतिशत रोपाइँ सम्पन्न भई सुधार देखिएको छ ।
मन्त्रालयका अनुसार मनसुनको अवस्था, वर्षाको वितरण तथा स्थानीय मौसमीय परिस्थितिका आधारमा विभिन्न प्रदेशमा रोपाइँको प्रगति फरक–फरक रहेको छ । न्यूज बैंक






















