कृषि

लुम्बिनी प्रदेशमा २० प्रतिशतभन्दा बढी धान रोपाइँ

नवलपुर टुडे
२०८३ असार १५ | बिहान ०७:०३ बजे

दाङ । लुम्बिनी प्रदेशमा धान रोपाइँ २० दशमलव ८७ प्रतिशत क्षेत्रफलमा सम्पन्न भएको छ । कृषि विकास निर्देशनालयका बागवानी निर्देशक सन्देश धितालका अनुसार प्रदेशभर धान रोपाइँ हुने ३ लाख १ हजार ३७२ हेक्टर क्षेत्रफलमध्ये हालसम्म ६२ हजार ६७० दशमलव ८७ हेक्टर क्षेत्रमा रोपाइँ सकिएको छ ।

जिल्लागत विवरणअनुसार पाल्पामा सबैभन्दा बढी ४५ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । पाल्पामा ७ हजार २८७ हेक्टरमध्ये ३ हजार २७९ दशमलव ४ हेक्टर क्षेत्रमा रोपाइँ सकिएको छ । त्यसपछि गुल्मीमा २५ दशमलव ७७ प्रतिशत, रुकुम (पूर्व) मा २५ प्रतिशत, नवलपरासी (बर्दघाट–सुस्तापूर्व) मा २४ दशमलव ५ प्रतिशत र बर्दियामा १९ दशमलव ३१ प्रतिशत रोपाइँ सम्पन्न भएको छ ।

दाङमा ३६ हजार २०० हेक्टरमध्ये ५ हजार ४३० हेक्टर अर्थात् १५ प्रतिशत क्षेत्रमा धान रोपाइँ सकिएको छ । अर्घाखाँचीमा ११ दशमलव २७ प्रतिशत र रोल्पामा ४ दशमलव ८ प्रतिशत रोपाइँ भएको छ । रुपन्देहीमा ४३ प्रतिशत धान रोपाइँ सम्पन्न भएको छ । त्यहाँ ६३ हजार ५५० हेक्टरमध्ये २७ हजार ३२६ दशमलव ५ हेक्टर क्षेत्रमा रोपाइँ सकिएको छ । कपिलवस्तुमा १५ दशमलव ८ प्रतिशत तथा प्यूठानमा ८ प्रतिशत रोपाइँ सम्पन्न भएको तथ्यांकमा उल्लेख छ ।

सबैभन्दा कम रोपाइँ बाँकेमा भएको छ । बाँकेमा ३३ हजार ७८० हेक्टरमध्ये केवल १६८ दशमलव ९ हेक्टर अर्थात् शून्य दशमलव ५ प्रतिशत क्षेत्रमा मात्र धान रोपाइँ सम्पन्न भएको छ ।

मनसुन सक्रिय हुँदै गएसँगै धान रोपाइँको गति थप तीव्र भएको छ ।

कमेन्टहरु