Opens in a new tab

कास्कीमा रोपाइँ तीव्र

रासस

29Shares
dida bag ad

कास्की। अघिल्लो वर्षको तुलनामा यस वर्ष एक हप्ताअघि मनसुन सुरु भएपछि कास्कीका किसानले समयमै धान रोपाइँ गर्न पाएका छन् । जिल्लाका २६ हजार हेक्टर क्षेत्रफलमा धान खेती गरिँदै आइएको छ ।

जिल्ला कृषि विकास कार्यालयका कृषि प्रचारप्रसार अधिकृत रामकृष्ण अर्यालका अनुसार यहाँका चार पालिका र एक महानगरपालिका २६ हजार हेक्टर धान खेतमध्ये ४७ प्रतिशतमा धान रोपाइँ सकिएको हो । सिँचाइ कुलो लाग्ने खेतमा अधिकांश रोपाइँ भइसकेको उनले जानकारी दिए ।

गाउँका टारी खेतमा पानीका मुल अझै नफुटेका कारण रोपाइँ हुन सकेको छैन, अर्यालका अनुसार दुई चार दिन लगातार वर्षा भयो भने टारी खेतमा पनि धान रोपाइँ हुन्छ । सिँचाइ भएका र धानका पकेट क्षेत्र मानिँदै आएका फाँटहरू कुँडहर, शिशुवा, फेवाफाँट, विरुवा, सार्दीखोला, लाचोक, हेम्जा, सुइँखेत खुदी, भलाम, बुडुवा सातमुहाने देउराली, सुरौदी, अर्मला, आर्बा फाट, मादीबेसी, मकैखोला, वेगनास तालबेसी जस्ता फाँटका अधिकांश किसानले धान रोपाइँ गरिसकेको अर्यालले बताए ।

वार्षिक ८५ हजार मेक्टिकटन धान उत्पादन हुँदै आएको कास्कीमा बढीमात्रामा उन्नत जातका धानका बीउहरू रोप्ने गरिएको जानकारी उनले दिए । ती जातका धानबालीले बढी उत्पादन दिने भएपछि किसान उन्नत जातको धानप्रति आकर्षित हुने गरेका छन् ।

कास्कीमा रैथाने धान जेठोबुढो, गुर्दी, मन्सरा, अनदीबढी हुने गरेको भए पनि पछिल्ला वर्षमा त्यस्ता रैथाने धान कम लगाउने गरिएको पाइएको छ । अधिकांश किसानले उन्नत मनसुली, खुमल, रामधाम, सावित्रीजस्ता जातहरु लगाउँदै आएको जानकारी जिल्ला कृषि विकास कार्यालय कास्कीका प्रमुख सुदीप खतिवडाले दिए ।

कृषि विकास कार्यालयले सुधारिएको धानको बीउ किसानलाई अनुदान दिँदै आएको र यस वर्ष पनि उक्त बीउको लागि आठ लाख रुपैयाँ छुट्टिएको छ, श्रोत बीउ, औजार, उपकरण वितरण, भण्डारण र वर्गीकरण गर्ने गरेका छौँ । कार्यालयले वार्षिक रूपमा उत्कृष्ट किसानलाई पुरस्कृत गर्दै आएको छ ।

पोखरा–२४ कास्की कोटका किसान जीवन सुवेदीले यस वर्ष बेलैमा धान रोपाइँ गर्न पाएकोमा खुसी व्यक्त गर्दै धानको उत्पादन बढ्ने आशा गरेका छन् ।

रासायनिक मलमा कुनै पनि कृषि सहकारीले कालोकजारी गरी बढी मूल्यमा बिक्री नगरुन भनेर नै अनुगमन गरिरहेको जानकारी उनले दिए । पछिल्लो समय गोरुको सट्टा ट्याक्टरबाट खेत जोति रोपाइँ गर्ने भएकाले पनि एकै दिन धेरै क्षेत्रफलको जमिनमा धान रोपाइँ गर्न सकिने बताए ।

समयमै मनसुन सुरु भएकाले र प्राकृतिक प्रकोप तथा कुनै रोग नलागेमा अघिल्लो वर्षको तुलनामा यस वर्ष कास्कीमा धानको उत्पादन बढ्ने अनुमान कृषि विकास कार्यालय कास्कीको छ ।