अर्थ

राजपुर नगरपालिकाको १०औँ नगरसभा सम्पन्न, ५० करोड १९ लाख ७८ हजार रुपैयाँको बजेट प्रस्तुत

अशोक यादव
२०८३ असार ४ | मध्यान्ह ०७:०३ बजे

रौतहट, असार ४ । रौतहटको राजपुर नगरपालिकाको १०औँ नगरसभा नगर प्रमुख डा. राजिक आलमको अध्यक्षतामा भव्य रूपमा सम्पन्न भएको छ। नगरसभामा आर्थिक वर्ष २०८३/८४ का लागि ५० करोड १९ लाख ७८ हजार रुपैयाँ बराबरको बजेट प्रस्तुत गरिएको छ।

नगरसभामा उपप्रमुख जमिला अशगरी, प्रमुख प्रशासकीय अधिकृत तथा उपसचिव धिरेन्द्र राज पन्त, पूर्व अधिकृत बैजु ठाकुर, लेखापाल मनोज कर्ण, प्रशासन शाखा प्रमुख, सम्पूर्ण वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू, कर्मचारी, स्थानीय बासिन्दा, सञ्चारकर्मी लगायत हजारौँ नगरवासीको उल्लेखनीय सहभागिता रहेको थियो।

प्रस्तुत बजेट तथा नीति–कार्यक्रममा शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार विकास, खानेपानी, सरसफाइ, युवा तथा खेलकुद, महिला सशक्तीकरण तथा सामाजिक सुरक्षा लगायतका क्षेत्रलाई प्राथमिकतामा राखिएको जनाइएको छ। नगरवासीको जीवनस्तर उकास्ने, रोजगारीका अवसर सिर्जना गर्ने तथा समग्र नगरको विकासलाई गति दिने उद्देश्यसहित बजेट ल्याइएको नगर प्रमुख डा. आलमले बताउनुभयो।

नगरसभाले आगामी आर्थिक वर्षका लागि विभिन्न विकास योजना तथा कार्यक्रमहरू अनुमोदन गर्दै नगरको समग्र विकास र समृद्धिलाई केन्द्रमा राखेर बजेट कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको नगरपालिकाले जनाएको छ।

कमेन्टहरु