कृषि

प्रयोगात्मक सीप विकासका लागि तरकारीखेती विस्तार

नवलपुर टुडे
२०८३ जेष्ठ २ | मध्यान्ह ०५:०२ बजे

म्याग्दी । रघुगङ्गा गाउँपालिका–२ भगवतिस्थित मुक्तिधाम माध्यमिक विद्यालयले प्रयोगात्मक सीप विकासका लागि तरकारीखेती विस्तार गरेको छ । प्रयोगात्मक अभ्यास, चमेनागृह र छात्रावासका लागि आवश्यक पर्ने तरकारी आपूर्तिका साथै विद्यार्थीमा व्यावसायिक र प्रयोगात्मक ज्ञान, सीप विकास गराउने उद्देश्यले तरकारीखेती विस्तार गरिएको हो।

मुक्तिधाम माविका प्रधानाध्यापक अमरबहादुर खत्रीले वार्षिक रु २५ हजार तिर्नेगरी भाडामा लिएर चार रोपनी जमिनमा लगाइएको तरकारीले चमेनागृह र छात्रावासको माग धान्नाका साथै बिक्री गरेर विद्यार्थीले खाजा खर्च जुटाउने गरेका बताए। यसले विद्यार्थीमा प्रयोगात्मक सीप विकास गर्नाका साथै आत्मनिर्भर बन्न प्रेरित गर्ने उनले विश्वास व्यक्त गरे।

“कक्षा ९ देखि १२ सम्म कृषि प्राविधिक अध्ययन गर्ने ५० जना विद्यार्थीले प्रयोगात्मक अभ्यासका लागि तरकारीखेती गरेर व्यावहारिक र व्यावसायिक ज्ञान, सीप हासिल गर्नाका साथै बिक्री भएको आम्दानीबाट खाजा खर्च जुटाएका छन्”, प्रअ खत्रीले भने, “चमेनागृह र छात्रावासका लागि आवश्यक तरकारी विद्यालयकै करेसाबारीको उत्पादनले पुगेको छ ।”

करेसाबारीमा बन्दा, काउली, टमाटर, साग, सिमी, करेला, घिराैँला, अकबरे खुर्सानी, काँक्रो, ब्रोकाउली, जुकेनीलगायत मौसमी र बेमौसमी विभिन्न जातका तरकारीखेती भइरहेका छन् । “बिरुवा पनि विद्यालयले तयार पार्दै आएको छ । तीन वटा प्लास्टिकको टनेल बनाइएको छ”, उनले भने।

गँड्यौलाको प्रयोग गरेर करेसाबारीमा आवश्यक पर्ने प्राङ्गारिक मल विद्यालय आफैँले उत्पादन गरेको कृषि प्राविधिक विषयका प्रशिक्षक गणेश चोखालले बताए। “विद्यालयको फोहर, फालिएका कापी किताब, च्याउखेतीमा प्रयोग भएको पराल र करेसाबारीको झारपातलाई गँड्यौला भएको खाडलमा कुहाएर मल बनाउने गरेका छौँ”, उनले भने, “विद्यालय भवनको एउटा कोठामा काठको मुढामा सिताके जातको च्याउखेती पनि गरेका छौँ ।”

मुक्तिधान माविबाट कृषि प्राविधिक विषयमा एसइई परीक्षा उत्तीर्ण गरेर कक्षा ११ मा भर्ना हुने तयारी गरेकी रेजिना भण्डारीले करेसाबारीमा काम गर्दा कक्षा कोठामा पढेको विषयवस्तु बुझ्न र सम्झन सजिलो भएको बताए।वि.सं. २००६ मा स्थापना भएको मुक्तिधाम माविले विसं २०६५ देखि कक्षा १२ सम्म र विसं २०७२ देखि कृषि प्राविधिक विषयको पठनपाठन सञ्चालन गर्दै आएको हो।

हाल तीन सय ५० जना विद्यार्थी अध्ययनरत रहेका मुक्तिधाममा कक्षा ६ देखि ८ सम्म विज्ञान, कम्प्युटर र गणित विषयलाई अङ्ग्रेजी माध्यमबाट पठनपाठन भइरहेको छ । यस वर्ष बेनी, पोखरा र निजी विद्यालयबाट पनि मुक्तिधाममा अध्ययनका लागि विद्यार्थी आएका प्रअ खत्रीले जानकारी दिए। विद्यालयमा पछिल्लो पटक सङ्घीय सरकारको सहयोगमा छात्रावास भवन र रघुगङ्गा गाउँपालिकाको आर्थिक सहयोगमा सभाहल निर्माण गरिएको छ।

कमेन्टहरु