मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँ भण्डारण गर्न किसानलाई आग्रह


काठमाडौं, वैशाख १६। मौसमको अवस्था प्रतिकूल रहेकाले गहुँलाई खेतमा नछाड्न किसानलाई कृषि विभागले आह्वान गरेको छ ।विभागले मौसममा आएको फेरबदलले मुलुकको विभिन्न भागमा हुस्सु, कुहिरो तथा वर्षा हुन थालेपछि किसानले खेतमा काटेर राखेका गहुँमा क्षति हुने जोखिम उच्च रहेकाले त्यसको न्यूनीकरणका लागि गहुँको उत्पादनलाई घरमा लगेर भण्डारण गर्न आग्रह गरेको हो ।
केन्द्रले गहुँलगायत अन्य बाली काटेको खेतमा बाँकी रहेको कृषि अवशेषहरू नजलाउन भनेको छ । यस वर्ष करिब २२ लाख मेट्रिक टन गहुँ उत्पादन हुने अनुमान गरिएको कृषि सूचना केन्द्रले जनाएको छ ।
गर्मी बढेसँगै लामखुट्टे, झिँगा, किर्ना आदिको सङ्ख्या पनि बढ्ने र गाई, भैँसीमा लम्पी स्किन रोगको सङ्क्रमण हुने जोखिम रहेको केन्द्रका अधिकृत सञ्जीव पण्डितले जानकारी दिनुभयो । केन्द्रले गाईभैँसीलाई लम्पी स्किन रोगविरुद्धको खोप अनिवार्य रुपमा लगाउन पशुपालक किसानलाई आग्रह पनि गरेको छ ।






















